आगामी फेब्रुअरी १७ देखि २० सम्म युएईको दुबईमा हुने एफसिएज रेफ्रिज सेमिनारमा नेपाली रेफ्रीहरूले सहभागिता जनाउने भएका छन्।
एसियाली फेन्सिङ महासंघ र युएई फेन्सिङ संघको संयुक्त आयोजनामा हुन लागेको सेमिनारमा नेपालका राष्ट्रिय रेफ्रीहरू अभिषेक कार्की, अनुप कपाली र अनिषा अधिकारीले सहभागिता जनाउनेछन्।
नेपालमा फेन्सिङ खेलको विकास र विभिन्न प्रतियोगिताहरु आयोजना गर्नका लागि दक्ष प्राविधिक जनशक्तिको आवश्यकतालाई महसुस गर्दै नेपाल फेन्सिङ संघले एसियाली फेन्सिङ महासंघलाई नेपाली रेफ्रीलाई सहभागिता गराउन विशेष अनुरोध गरेको थियो।
नेपालका राष्ट्रिय रेफ्रीहरुले आफ्नो कौशलको विकास र नयाँ नियमहरुको बारेमा ज्ञान हासिल गर्नेछन्। उक्त सेमिनारमा इपी, फोयल र साइबर तीनै विधामा रेफ्री कोर्ष तथा परीक्षा हुनेछ।
नेपाल फेन्सिङ संघका अध्यक्ष सुनीलकुमार श्रेष्ठ र महासचिव सुजनलाल श्रेष्ठले सहभागी हुन जाने रेफ्रीहरूलाई संघको कार्यालय ठमेलमा विदाइ गरेका छन्।
अध्यक्ष श्रेष्ठले रेफ्री सेमिनार र परीक्षामा नेपाली रेफ्रीहरुले राम्रो नतिजा ल्याइ राष्ट्रको गौरव उच्च पार्ने र नेपालमा फेन्सिङको विकासका लागि कोसेढुगां सावित विश्वास व्यक्त गरे।
महासचिव सुजनलाल श्रेष्ठले भविष्यमा हुने एशियाली खेलकुद प्रतियोगितामा पनि नेपालका फेन्सिङ प्रावधिक जनशक्तिले मौका पाउनेमा विश्वस्त रहेको बताए।