नेपाल प्रहरी क्लबले लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको महिलामा मंगलबार सफल सुरुआत गरेको छ।
प्रहरीले कीर्तिपुर नगरपालिकालाई ७८–२३ ले सहजै पराजित गर्यो। प्रहरीकी समिक्षा न्यौपानेले ११ अंक जोडिन्। कीर्तिपुरकी झरना वज्राचार्यले १३ स्कोर गरिन्।
प्रहरीले ३२ अंक जोड्दा कीर्तिपुर बल्ल खाता खोल्न सफल भएको थियो। चारै क्वाटरको नतिजा आफ्नो पक्षमा पारेको प्रहरीले क्रमशः २१–०, २४–६, १८–१० र १५–७ अंक जोड्यो।
नेपाल बास्केटबल संघको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुषमा टाइम्स बास्केटबल र गोल्डेनगेटले जित निकाले।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा टाइम्सले जेभियर इन्टरनेसनललाई ११७–६४ ले हरायो। टाइम्सका विजय बुर्जाले २४ तथा जेभियरका राहुल नायकले १४ स्कोर गरे।
दोश्रो क्वाटरमा १३–२० ले पछि परेको टाइम्स बाँकी प्रत्येक क्वाटरमा भने दोब्बर भन्दा बढी अंकले अगाडि रहँदै फराकिलो अन्तरको जित हात पार्न सफल भयो। टाइम्सले पहिलोमा ३५–१६, तेश्रोमा ३१–१५ र चौथोमा ३८–१३ को अग्रता लियो।
प्रतिस्पर्धात्मक अन्तिम खेलमा गोल्डेनगेटले एनसीसीएसमाथि ७७–७४ को रोमाञ्चक जित रच्यो। गोल्डेनगेटका अभिषेक सिंहले ३२ अंक बटुले । एनसीसीएसका सौगात सिंहले १८ अंक जोडे।
अन्तिम क्वाटरमा लिएको २६–१७ को अग्रतानै गोल्डेनगेटको जितको आधार बन्यो। पहिलोमा १८–२१ र दोश्रोमा १३–१६ ले पछि परेको गोल्डेनगेट तेश्रोमा २०–२० को बराबरीमा रोकिएको थियो।