नेपाल फेन्सिङ संघले आफ्नो तेस्रो वार्षिक साधारण सभा शनिबार सम्पन्न गरेको छ।
भर्चुअलरूपमा भएको साधारण सभामा महासचिव सुजनलाल श्रेष्ठले संघले हालसम्म गरेका कार्यक्रम र गतिविधिको बारेमा जानकारी गराएका थिए। साथै सन् २०२२ को संघको भावी कार्यक्रमहरु पनि साधारणसमा पेश गरेका थिए।
कोषाध्यक्ष अनुप कपालीले आर्थिक वर्ष २०७७/०७८ को संघको आयव्यय र सन् २०२२ को अनुमानित बजेट प्रस्तुत गरेका थिए। साधारण सभाले महासचिव र कोषाध्यक्षको दुवै प्रतिवदेन पास गरेको छ।
साधारण सभाको प्रमुख अतिथि नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले छोटो अवधिमा फेन्सिङले नेपालको खेलकुदमा आफ्नो पहिचान दिन सफल भएको र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीता भइ पदकका लागि र साधारण सभाको सफलतका लागि शुभकामना दिएका थिए।
संघका अध्यक्ष सुनीलकुमार श्रेष्ठले विगतका दिनमा सामना गर्नु परेको कठिनाइका बाबजुद पनि संघ अघि बढिरहेको प्रष्ट पारेका थिए।
साधारण सभाको पहिलो सत्रमा संघका महासचिव सुजनलाल श्रेष्ठले सम्पूर्ण साधारण सभाका सदस्यहरु, प्रमुख अतिथि, विशेष अतिथि र अन्य महानुभावहरुलाई सो साधारण सभामा स्वागत गरेका थिए।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठले पनि फेन्सिङ खेलको बारेमा अझ बढी जनमानसमा जानकारी गराउनु पर्नेमा जोड दिदै सभाको सफलतको कामना गरेका थिए।
सोही कार्यक्रममा फेन्सिङ खेलाडीहरुको तर्फबाट इपी फेन्सर अनिता कार्कीले फेन्सिङ खेलबाट आफ्नो खेल जीवनमा भएको सकरात्मक परिवर्तनका बारेमा जानकारी गराएकी थिइन्।