नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आयोजना गर्ने एनएनआइपिए स्पोर्टस् अवार्ड फागुन १७ गते हुने भएको छ।
गोदावरी नगरपालिकाको मुख्य प्रायोजनामा हुने १६ औं संस्करणको अवार्ड ललितपुरस्थित बज्रबाराही मन्दिरमा हुनेछ।
कोभिड-१९ का कारण प्रतियोगिताहरू नभईरहेको अवस्थालाई मध्यनजर गर्दै यसपटक ओलम्पिक कमिटीबाट आधिकारिकता प्राप्त २७ खेलका खेल संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा देखाएको उच्च प्रदर्शनका आधारमा छनोट गरि सिफारिस गरिएको खेलाडीहरुलाई पुरस्कार प्रदान गर्ने संघले जनाएको छ ।
एवार्डमा २७ खेल मध्येका उत्कृष्ट खेलाडी एवार्ड जसमा खेलाडीहरुले रु १० हजार सहित ट्रफी प्राप्त गर्ने छन्। यस्तै उत्कृष्ट खेलाडीहरु मध्येबाट एक पुरुष र एक महिला सर्वोत्कृष्ट खेलाडी चयन गरिने छ। जसले नगद १ लाख पुरस्कार प्राप्त गर्नेछन्।
यसैगरि एक पुरुष र एक महिला प्रतिभाशाली खेलाडी चयन गरिने र विजयीले ५० हजार प्राप्त गर्ने छन्। एक पुरुष र एक महिला उदियमान खेलाडी चयन गरि ५० हजार नगदले सम्मान गरिने छ। एक पाका खेलाडी जसले खेलकुदमा जीवन ब्यतित गर्नुका साथै खेलकुदको विकासमा योगदान पुर्याएका छन् उनलाई गजराज आदर्श खेल ब्यक्तित्व पुरस्कारबाट सम्मान गरिने छ। यो पुरस्कार नेपालका पहिलो धावक गजराज जोशीको नाममा रहेको गजराज जोशी ट्रष्टले प्रदान गरेको रु ३५ हजार रहेको छ।
एक खेल पत्रकारलाई एनएनआईपिए खेल पत्रकार पुरस्कारबाट सम्मान गरिने छ। जसमा नगद २५ हजार रहेको छ।
यस्तै एक जना बर्ष उत्कृष्ट पारा खेलाडी सम्मान जसलाई १० हजार नगदले सम्मान गरिने आयोजकले जनाएका छन्।