राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यहरूले बोर्डको बैठक तत्काल बोलाउन माग गरेको ज्ञापनपत्र बुझ्न युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले अस्वीकार गरेका छन्।
बिहीबार मन्त्रालयमा राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यहरूले तत्काल बोर्डको बैठक बोलाउन माग गरेको ज्ञापनपत्र बुझ्न मन्त्री गहरतराजले अस्वीकार गरेका हुन्।
परिषद्को ज्ञापनपत्र बुझ्न अस्वीकार गरेपछि बोर्ड सदस्यहरूले युवा तथा खेलकुद मन्त्रालयको सचिवालयमा ज्ञापनपत्र दर्ता गराएका छन्।
ज्ञापनपत्र दर्ता गराएपछि परिषद्का कार्यकारी बोर्ड सदस्य एकेन्द्रबहादुर कुँवरले विगत ५ महिना यता परिषद्को बैठक बस्न नसक्दा राखेपमा अन्योलता छाएको बताए। राष्ट्रिय खेलकुद परिषद्मा भइरहेको अन्योलताको निकासका लागि तत्काल बैठक बोलाउन माग गरेको बताए।
उनले भने, ‘विगत ४-५ महिनादेखि परिषद्को बैठक बस्न नसकेर अन्योलता छाएको छ। त्यसको निकासको निम्ति हामीले सबै साथीहरु मिलेर युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजसँग यसको निकास मागेका थियौँ। तर उहाँले भेट्न चाहनुभएन हामीले ज्ञापन पत्र बुझाएका छौँ र बैठक नबसेको लगभग डेढ वर्ष हुन लागेको छ। त्यस कारणले गर्दा यो बोर्डको बैठक छिटो भन्दा छिटो बोलाइयोस् भनेर अनुरोध गरेका छौँ। लिखित रुपमा निवेदन पनि दिएका छौँ। उहाँको भनाइ अनुसार अहिलेको अवस्थामा सदस्यसचिव नभएकोले गाह्रो छ भन्नुभएको छ। तर ऐनअनुसार हामीले बुझेको उपाध्यक्ष बिना पनि बोर्डको बैठक बसाउन सक्नुहुन्छ। हामीले खेल र खेलाडीको लागि, खेलकुद परिषद् भित्रको अन्योलताको निकासको निम्ति आह्वान गरेका छौँ।’