स्पेनिस टेनिस स्टार राफेल नाडालले सर्वाधिक ग्रान्डस्लाम टेनिसको उपाधि जित्ने पुरुष खेलाडीको कीर्तिमान बनाएका छन्।
आइतबार मेलवर्नमा भएको अस्ट्रेलियन ओपनतर्फ पुरुष एकलको उपाधि जित्दै ३५ वर्षीय नाडालले कीर्तिमान बनाएका हुन्।
कीर्तिमान बनाउने क्रममा नाडालले दोस्रो वरीयताका रुसी खेलाडी डानियल मेदभेदेभमाथि उत्कृष्ट जित निकाले।
पहिलो दुई सेट गुमाएका नाडालले त्यसपछिका तीन सेट जित्दै ३-२ को उत्कृष्ट जित निकालेका थिए।
पहिलो सेट २-६ र दोस्रो सेट ६-७(५) ले गुमाएका नाडालले त्यसपछि ६-४, ६-४ र ७-५ ले जित्दै च्याम्पियन बन्न सफल भए।
सिजनको अस्ट्रेलियन ओपन च्याम्पियन बनेसँगै नाडालले २१औं ग्रान्डस्लामको उपाधि जिते। नाडालले अस्ट्रेलियन ओपन भने दोस्रो पटक जितेका हुन्। यसअघि उनले सन् २००९ मा अस्ट्रेलियन ओपन जितेका थिए।
नाडालले आफ्नो स्वर्णिम पुस्ताका खेलाडी सर्बियाका नोभाक जोकोभिच र स्विट्जरल्यान्डका रोजर फेडेररको बराबरीमा थिए। जोकोभिच र फेडेररले २० वटा ग्रान्डस्लामको उपाधि जितेका छन्।
यसपटक जोकोभिच अस्ट्रेलिया पुगेर पनि प्रतियोगितामा भाग नलिइ घर फर्कन बाध्य भएका थिए। जोकोभिचले कोरोनाविरुद्धको खोप नलिएको हुनाले उनलाई घर फर्काइएको थियो।
यता फेडेररले भने चोटका कारण प्रतियोगितामा भाग लिएका थिएनन्।