नेपालकी बक्सिङ खेलाडी सुष्मा तामाङले उज्वेकिस्तानको तास्कन्त शहरमा संचालन हुने एएसबिसी यू–२२ पुरुष-महिलामा बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न नपाउने भएकी छिन्।
मंगलबार राति उज्वेकिस्तान जानुअघि गरिएको कोरोना भाइरसको पिसिआर परीक्षणमा पोजेटिभ नतिजा आएपछि सुष्माको प्रतियोगितामा प्रतिस्पर्धा गर्ने सपना अधुरै भएको हो।
‘च्याम्पियनसिपमा छनोट हुन सफल एक मात्र महिला खेलाडी सुष्मा तामाङको उडानपूर्व पिसिआर परिक्षणमा कोभिड– १९ पोजेटिभ रिपोर्ट देखिएकोले उनी तास्कन्ट प्रस्थान गर्न पाइनन् र जसको कारण उक्त प्रतियोगितामा नेपालको सहभागीता हुने छैन,’ नेपाल बक्सिङ संघका प्रवक्ता श्यामकाजी अवालेको भनाइ छ।
सुष्माको स्वास्थ्य सामान्य रहेको र उनलाई कोभिड-१९ को कुनै लक्षण नदेखिएको बक्सिङ संघको भनाइ छ।
सुष्माले महिला ४८ केजी मुनी तौल समूहमा प्रतिस्पर्धा गर्ने तय थियो। प्रतियोगितामा भाग लिन जाने सुष्मासहित प्रमुख प्रशिक्षक प्रकाश थापा मगर र राष्ट्रिय प्रशिक्षक नविन तन्डुकारलाई खेलकुद मन्त्री महेश्वरजंग गहतराजले सोमबार विदाइ गरेका थिए।
सुष्मा काठमाडौंमा सम्पन्न प्रकाश दाहाल स्मृती दोश्रो राष्ट्रिय बक्सिङ्ग प्रतियोगिताका स्वर्ण पदक विजेता हुन्।
उनी गत वैशाखमा पोल्यान्डमा सम्पन्न आइबा युथ बक्सिङ च्याम्पियनसिपमा लिथुवानियाकी खेलाडीलाई पराजित गरी विश्व युवा बक्सिङ्गमा क्वाटरफाइनलसम्म पुगेकी थिइन्। विश्व युवा बक्सिङ वरीयतामा उनी छैटौं स्थानमा छिन्।