नेपाल तेक्वान्दो संघले ओलम्पियनद्वय संगिना वैद्य र दीपक विष्टलाई दिदै आएको पकेट खर्च कटौती गरेको छ।
संघले दुवै खेलाडीलाई ओलम्पिकमा छनोट भएदेखि सम्मानस्वरूप मासिक दुई हजार रूपैयाँ पकेट खर्च दिँदै आएको थियो।
वैद्य सन् २००४ मा ग्रिसको एथेन्स ओलम्पिक र विष्ट सन् २००८ मा चीनको बेइजिङ ओलम्पिकका लागि छनोट भएका थिए। यी दुई खेलाडी मात्र छनोट पार गरेर ओलम्पिक खेल्ने नेपाली खेलाडी हुन्।
तेक्वान्दो संघले ओलम्पिपयनद्वय वैद्य र विष्टको पकेट खर्च पुसदेखि नदिने गत मंसिर २७ गते निर्णय गरेको थियो। संघले वैद्य र विष्टलाई सम्मानको पकेट खर्च प्रशिक्षणरत राष्ट्रिय खेलाडीलाई उपलब्ध गराउने निर्णय गरेको जनाएको थियो।
दुवै जनाले खेल जीवनबाट संन्यास लिएको एक दशक भइसकेको छ भने हाल तेक्वान्दो प्रशिक्षकको रूपमा कार्यरत छन्।
संघले पकेट खर्च कटौती गरेपछि दुवै जनाले असन्तुष्टि जनाउँदै पत्र लेखेका छन्। उनीहरूले गत पुस २८ गते संघमा पत्र समेत दर्ता गराएका छन्।
पत्रमा पकेट खर्च बन्द गरिने निर्णयले आत्मसम्मानमा ठेस पुगेको उल्लेख गरिएको छ।
‘पुस महिनाबाट सम्मानस्वरुप दिएको पकेट खर्च बन्द गरिने पत्रले हामीले दुखित हुनुका साथै आत्मसम्मानमा ठेस पुगेको महसुस गरेका छौं। आफ्नो अभिभावक संस्थाले नै ओलम्पिक छनोट भएवापत दिएको सम्मान नै कटौती गर्दा त्यसले नयाँ पुस्ताका खेलाडीमा जाने सन्देशका विषयमा संघले ध्यान दिनुपर्ने हामीले महसुस गरेका छौं,’ पत्रमा लेखिएको छ।
उनीहरूले पकेट खर्च सम्मान भएकाले पदक विजेता सबै राष्ट्रिय खेलाडीलाई उपलब्ध गराउन पनि माग गरेका छन्।
पत्रमा भनिएको छ, ‘नेपाली खेलकुदले नै उच्च सम्मानका साथ हेरिएको ओलम्पिक छनोट भएका खेलाडीको सम्मान रकम काटेर अन्य खेलाडीलाई उपलब्ध गराउँछौं भन्ने निर्णय कत्तिको जायज हुन्छ? सम्भव भएसम्म सबै पदक विजेता राष्ट्रिय खेलाडीलाई पकेट खर्च उपलब्ध संघले गराउनुपर्छ।’
यस्तै उनीहरूले निर्णय गर्नुअघि सल्लाह नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन्।