कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीपुत्री सुनमाया बुढाले विश्वमाझ नेपालको शिर उँचो बनाएको बताएका छन्। बुढालाई सोमबार कर्णाली प्रदेशमा गरिएको अभिनन्दन कार्यक्रमका क्रममा मुख्यमन्त्री शाहीले बुढाको उच्च प्रशंसा गरेका हुन्।
मुख्यमन्त्री शाहीले सन् २०२१ डिसेम्बर १२ मा थाइल्यान्डको उत्तरपश्चिममा पर्ने सबैभन्दा उच्च पर्वत डोर्ड इथानन्मा सम्पन्न ११० किलोमिटरको अल्ट्रा ट्रेल रेसअन्तर्गत महिला प्रतियोगीहरुमा विश्वमा प्रथम आएर बुढाले कर्णाली र नेपालका नामको संसारभर चिनाएको भन्दै खुसी व्यक्त गरे। सुनमायाको जीतले कणालीवासीको गर्वले छाती फुलेको उनको भनाइ थियो।
बुढाले दुई हजार प्रतियोगी सहभागी रहेको उक्त रेसमा महिलामा प्रथम र पुरुषसहितको दौडमा तृतीय स्थान प्राप्त गरेकी थिइन्।
“विश्वमा विकासमा सबैभन्दा पछि परेको देश नेपाल र नेपालमा अति नै पछि परेको कर्णालीले सुनमायाको जीतसँगै आज विश्वसामु आफ्नो इतिहास लेखाउन सफल भएको छ,” मुख्यमन्त्री शाहीले भने, “कर्णालीपुत्री बुढालाई हार्दिक बधाई छ। बुढाको सम्मानका लागि कर्णाली प्रदेश सरकारले रु दुई लाख छुट्याएको छ।”
यो पनि : थाइल्यान्डमा ११० किलोमिटर लामो दौड जितेकी जुम्लाकी सुनमाया (भिडिओ)
प्रदेश सरकारले खेल र खेलाडी प्रवद्र्धनमा जोड दिएको बताउनुभएका उहाँले नेपालमै भलिबल कभर्ड हलसहित सुर्खेतमा रु एक अर्ब ७० करोडको अत्याधुनिक रङ्गशाला निर्माणको कार्य तीव्ररुपमा अगाडि बढाइएको जनाए।
कर्णाली प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमालले विकट भूगोल सफलताको मानक बन्दो रहेछ भन्ने उदाहरण सुनमायाले देखाएको प्रतिक्रिया दिए । जुम्ली छोरी बुढाको योगदानको उच्च मूल्याङ्कन स्थानीय, प्रदेशसहित नेपाल सरकारले गर्नुपर्नेमा उपाध्यक्ष हमालले जोड दिए ।
कर्णाली प्रदेशका सदस्यसचिव विश्वामित्र सञ्ज्यालले कर्णाली प्रदेशको सान सुनमायाले नेपालको नाम उँचो राख्न सफल भएको बताए। सदस्यसचिव सञ्ज्यालले मुख्यमन्त्री शाहीसमक्ष हरेक वर्षको ओलम्पिक दिवसमा ‘काँक्रेविहार अल्ट्रा ट्रेल रेस’ प्रतियोगिता सञ्चालन गर्ने प्रस्ताव राखे । उनले भने, “कर्णाली क्षेत्र अल्ट्रा ट्रेल रेसको सम्भाव्य भूमि हो । यहाँको खेल क्षेत्रको विकासका लागि प्रदेश सरकारले विशेष जोड दिनुपर्दछ ।”
उद्योग वाणिज्य सङ्घ सुर्खेतका महासचिव लक्ष्मण कँडेलले सुनमायाको सफलताले नेपालको नाम विश्व इतिहासमा स्वर्णिम अक्षरले लेखिने बताए। सुनमाया जस्ता हिराहरु जन्माउने कर्णाली कमजोरी नभएको जिकिर गर्दै महासचिव कँडेलले खेल क्षेत्रको विकास र खेलाडीहरुको प्रोत्साहनका लागि निजी क्षेत्रबाट अपेक्षित सहयोग गर्ने प्रतिबद्धता गरे।
पातारासी गाउँपालिका–२ जुम्ला पेरे गाउँ निवासी अल्ट्रा ट्रेल रेस विजेता २३ वर्षीय बुढाले जीवनका कठिन कर्मले मीठो फल मिल्ने अनुभूति व्यक्त गरिन्। “गाह्रो काममा मात्र नाम छ,” बुढाले भन्नुभयो, “गाह्रो कामले सिकाउने र जिताउने दुवै गर्दो रहेछ ।”
उनले स्वदेशी तथा विदेशी खेलाडीले प्रशिक्षण लिने खालको कर्णाली हाइअल्टिच्युड ट्रेनिङ सेन्टरको विकासमा जोड दिन मुख्यमन्त्री शाहीलाई अनुरोध गरिन्।