सुनिल खड्काको दुई गोल प्रेरित आयोजक विराटनगरले भारत सिलिगुढीको युनाइटेड फुटबल क्लबविरुद्ध ३-० को सहज जित रच्दै विराट गोल्डकप फुटबलको सेमिफाइनलमा स्थान पक्का गरेको छ।
शनिबार राति सम्पन्न खेलमा मैदानमा पूरै समय निरीह सावित भएको पाहुना टोली सिलिगुढीविरुद्ध टिमलाई सहज जित दिलाउन आयोजकका प्रकाश बुढाथोकीले एक गोल गरेका थिए।
उनको एक र म्यान अफ दि म्याच खड्काको दुई गोलले विराटनगर अन्तिम चारमा स्थान बनाउन सफल भएको हो।
खेलको २५ औं मिनेटमा सुनिल खड्काले टिमका लागि गोलको खाता खोलेका थिए।
प्रकाश बुढाथोकीले दिएको क्रसलाई सुनिलले नियन्त्रणमा लिँदै पेनाल्टी बक्सभित्रैबाट गरेको प्रहार सुन्दर गोलमा परिणत भएको थियो। उनको प्रहारले जाली चुम्दा सिलिगुढीका गोलरक्षक निजम सिंह प्रतिक्रियाविहीन रहे।
खेलको पाँच मिनेटमै विराटनगरका प्रकाश बुढाथोकीको पासमा कप्तान दीपक राईले गोल गर्ने गतिलो अवसर गुमाए।
दीपकले डिबक्स भित्रदेखि गरेको प्रहार बाहिरियो।
यस्तै, ९ औं मिनेटमा विराटनगरका सुनिल खड्काले डिबक्स नजिकदेखि गरेको प्रहार पनि पोस्टबार माथिदेखि बाहिरदा थप गोल गर्ने अवसर खेर गयो।
पहिलो हाफमा विराटनगरले भारतीय टोलीलाई दबाबमा राखेको थियो।
तर, थप गोल गर्न सकेन।
पहिलो हाफसम्म १-० गोलले अग्रता कायम गरेको विराटनगरविरूद्ध दोस्रो हाफमा भारतका खेलाडीले सुधारिएको प्रदर्शन गरे पनि पोष्टमा चुनौती पेश गर्न भने सकेनन्।
खेलको ८६ औं मिनटेमा विराटनगरका प्रकाश बुढाथोकीले डिबक्सभित्रदेखि गरेको प्रहार गोलमा परिणत भएपछि विराटनगरको अग्रता दोब्बर भयो।
सन्तोष खड्काले निकालेको क्रस पासलाई प्रकाशले गोलमा परिणत गरेका हुन्। त्यसको दुई मिनेट बित्न नपाउँदै सुनिलले खेलको ८८ औं मिनेटमा गोल गरे।
विराटनगरका प्रशिक्षक सन्जीव बुढाथोकीले पहिलो हाफमा खेडालीहरूले सोचेजस्तो प्रर्दशन नगरे पनि दोस्रो हाफदेखि राम्रो खेल्दा नतिजा आफनो पक्षमा आएको बताए।
भारतीय सहर सिलिगुढीका का प्रक्षिक अनमेश तामाङले पाएको थुप्रै अवसरहरू खेलाडीले खेर फाल्दा हार भएको बताए।
आइतबारको दोस्रो क्वार्टरफाइनल खेल मछिन्द्र क्लब काठमाडौं र भारतको पञ्जाब पुलिसबीच हुनेछ।
भारतको पञ्जाबले शनिबार टाइब्रेकरमा गोरखा ब्वाइज क्लब रुपन्देहीलाई ४-२ गोलले हराउँदै अन्तिम आठमा प्रवेश गरेको थियो।