दिनेश सुनारले गत माघमा चौथोपटक गिनिज वर्ल्ड रेकर्ड्समा नाम लेखाए। उनले ट्राम्पोलिन (उफ्रिन मिल्ने लचकदार रबरको सामग्री) मा 'ब्याक समरसल्ट' (उल्टी जम्प) हानेर कीर्तिमान राखेका हुन्।
दिनेशले आफ्नो तयारीमा ३६० पटकको लक्ष्य राखेका थिए। अमेरिका पुगेर अझै राम्रो गरे। एक घन्टामा ४६० पटक ट्राम्पोलिनमा ब्याक समरसल्ट गरेर यो विधाको रेकर्ड राख्न उनी सफल भए।
'यसनिम्ति मैले महिनौं अभ्यास गरेँ,' उनले सेतोपाटीसँग भने, 'अभ्यास क्रममा ३६० पटकको लक्ष्य थियो। सोचेभन्दा राम्रो भयो।'
गिनिज वर्ल्ड रेकर्ड्समा दिनेशले यसअघि तीनवटा विधामा आफ्नो नाम दर्ज गराइसकेका छन्।
पहिलो, ‘मस्ट ट्विस्टिङ ब्याक फ्लिप्स अफ द वाल इन वान मिनेट’। अर्थात्, एक मिनेटमा पर्खालका आडमा सबभन्दा धेरैपटक घुमाउरो तरिकामा उल्टोबाट उफ्रिने। यसमा उनी १८ पटक उफ्रेका थिए।
दोस्रो, ‘मस्ट ब्याकवर्ड समरसल्ट वाल इन थर्टी सेकेन्डस्’। अर्थात्, ३० सेकेन्डमा पर्खालका आडमा सबभन्दा धेरै उल्टी हान्ने। यसमा उनले १६ पटक समरसल्ट गरेका थिए।
तेस्रो रेकर्ड हो, ‘द मस्ट ब्याकफ्लिप ३६० वाल इन थर्टी सेकेन्डस्’। उनले ३० सेकेन्डमा १२ पटक पर्खालमा उल्टोबाट उफ्रिएका थिए।
दिनेश कहिले बालुवाको थुप्रो त कहिले माटोको ढिस्कोमा ज्यानलाई हावामा मर्काएर उल्टी र सुल्टी जम्प हान्छन्। कहिले घरका छतछत दौडिँदै फड्किन्छन्। पर्खालहरू फुत्तफुत्त नाघ्छन्। खोला, भिर र पाखाबाट हाम्फाल्छन्।
सामान्य भाषामा यस्ता गतिविधिलाई 'पार्कर' खेल भनिन्छ। तर यो एकदमै जोखिमपूर्ण हुन्छ। यसनिम्ति लामो अभ्यास र हुटहुटी चाहिने दिनेश बताउँछन्।
'म केटाकेटी बेलादेखि नै चकचके थिएँ। जोखिम लिन रुचाउँथेँ,' उनले भने, 'मेरो स्वभावका कारण आमाबुवाले निकै हैरानी खेप्नुभयो। मैले यही जोखिम लिने स्वभाव उपयोग गरेर गिनिज बुकमा नाम लेखाएँ।'
खोटाङमा जन्मिएका दिनेश सानैमा काठमाडौं आएका हुन्। उनी निकै उपद्रो गर्थे। जताततै दौडिन्थे। छिमेकीका सामान बिगारिदिन्थे। आमाबुवालाई छोराले हात-खुट्टा भाँच्छ कि भन्ने सधैं पिर हुन्थ्यो।
'मेरै उपद्रोका कारण आमाबुवाले कतिपटक डेरा सर्नुपरेको थियो,' दिनेशले भने।
चन्चले दिनेशले २०६३ सालमा बालकुमारीमा आफ्नै उमेरका केटाहरूले हावामा शरीर बंगाएर उल्टी जम्प हानेको देखे।
'त्यस्तो त फिल्ममा मात्र देखेको थिएँ,' उनले भने, 'मैरै उमेरका केटाहरूले गरेको देखेर छक्कै परेँ। अनि म पनि यो गर्न सक्छु भन्ने लाग्यो।'
त्यसपछि १०-१५ जनाको समूह बनाएर उनी पनि उल्टी-सुल्टी हान्ने प्रयास गर्न थाले। निकै प्रयासपछि उनी हावामा शरीर मर्काएर उल्टी हान्न सक्ने भए। दैनिकी यसैमा बित्न थाल्यो। जडिबुटी, इमाडोल र बालकुमारीमा बालुवा थुपारिएका ठाउँमा दिनेश उफ्रिरहेका हुन्थे। इमाडोलमा छिमेकीको बालुवामा उल्टी हान्दा गाली र कुटाइ पनि खाए।
'छिमेकी दाइको बालुवामा उल्टी हान्थ्यौं। उल्टी हान्दा बालुवा खेर जान्थ्यो। त्यसैले मान्छे आएको थाहा पाउनेबित्तिकै भाग्थ्यौं। कहिलेकाहीँ गाली, कहिले कुटाइसम्म खानुपर्थ्यो,' दिनेशले सम्झिए।
आफ्नो प्रतिभा कुनै खेलसँग सम्बन्धित छ भन्ने राम्ररी थाहा नपाए पनि उनीभित्र पार्कर खेलाडी बन्ने रहर हुर्किसकेको थियो। गाली न कुटाइ, केहीले छेकेन। फिल्म हेरेर नयाँ-नयाँ तरिका सिक्न थाले।
यस्तै चल्दाचल्दै उनका बुवा वैदेशिक रोजगारीका लागि गए। दिनेश त्यो बेला आठ कक्षा पढ्थे। बुवा बिदेसिएपछि सहरको बालुवामा खेलेर हुर्किरहेका दिनेश खोटाङ फर्किए।
'गाउँ गएपछि आफूले सिकेको प्रतिभाबाट भविष्यमा केही गर्नुपर्छ भन्ने लाग्यो,' उनले भने, 'खेतका आली, बारीका कान्ला र माटोका ढिस्का नाघ्दै अभ्यास गर्न थालेँ। जुन ठाउँ अनुकूल भयो, त्यहीँ लागिपरेँ।'
उनी गाउँका स्कुल-स्कुल गएर आफ्नो प्रतिभा देखाउन पनि थाले। प्रतिभा देखेपछि कतिले उनलाई 'हनुमान' त कसैले 'उड्ने मान्छे' भने।
एकदिन गाउँमै भलिबल प्रतियोगिता क्रममा उनले आफ्नो प्रतिभा देखाए। प्रतियोगिता हेर्न सशस्त्र प्रहरी बलका तत्कालीन महानिरीक्षक सनतकुमार बस्नेत पुगेका थिए। दिनेशको प्रतिभाबाट महानिरीक्षक बस्नेत प्रभावित भए। काठमाडौं आएर सशस्त्रमा भर्ना हुन निम्तो दिए।
महानिरीक्षक बस्नेत भलिबल प्रतियोगिता हेर्न खोटाङ पुग्नुलाई आफ्नो जीवनको टर्निङ प्वाइन्ट मान्छन् दिनेश। भन्छन्, 'उहाँले मेरो प्रतिभा देखेका कारण मैले सशस्त्रमा भर्ना हुने अवसर पाएँ, जसकारण आज म यो स्थानमा छु।'
काठमाडौं आएर सशस्त्रमा भर्ना भएपछि उनी जिमन्यास्टिक खेलाडी बने। खेलाडी बन्न चाहिने थप कौशल सिके। लुम्बिनी च्याम्पियनसिप, सातौं र आठौं राष्ट्रिय गरी तीनवटा राष्ट्रिय प्रतियोगितामा स्वर्ण जिते।
जिमन्यास्टिक खेल्दै गर्दा उनले सन् २०१२ मा पार्कर खेलबारे थाहा पाए।
'युट्युबमा भिडिओ हेरिरहेको थिएँ। मानिसहरू घरको छतछत कुदेको, विभिन्न अवरोध पार गर्दै दगुरेको भिडिओ देखेँ,' उनले भने, 'त्यस्ता कौशल मैले पनि गरिरहेको हुन्थेँ। म पनि पार्कर रहेछु भन्ने लाग्यो।'
आफू लागिपरेको कलाको ज्ञान भएपछि दिनेश झनै हौसिए। दिनरात यसमै रमाउन थाले। घरका छतछत कुद्न थाले। पाखा र सानातिना डाँडाबाट हाम फाले। पार्करबारे थाहा पाएपछि पनि उनलाई यसमा विश्व रेकर्ड बनाउन मिल्छ भन्ने जानकारी थिएन।
'मान्छे अग्लो, होचो जस्ता विधामा मात्र विश्व रेकर्ड बन्छ भन्ने लाग्थ्यो,' उनी भन्छन्, 'अनौठो काम गरेर, शारीरिक कौशल देखाएर पनि रेकर्ड बनाउन सकिन्छ भन्ने युट्युब हेरेरै पछि थाहा पाएँ।'
विश्व रेकर्डबारे थाहा पाएपछि त उनले आफ्नो लक्ष्य पनि तय गरे। आफ्नो कलालाई गिनिज वर्ल्ड रेकर्ड्समा दर्ज गराउने सपना देखे।
सपना पूरा गर्न विपनामा मिहिनेत जरूरी थियो। महिनौंसम्म उफ्रिए, हाम फाले, उल्टी-सुल्टी (समरसल्ट) हाने। तर उनलाई कसैले पत्याएनन्।
'कसैले यो पागल भयो भन्थे। कसैले विश्वका पार्करसँग दाँजेर गल्ती गर्यो भन्थे,' उनले भने, 'तर नेपालबाट दर्जनौं विश्व रेकर्ड बनाएका थानेश्वर गुरागाईं दाइले हौसला दिनुभयो। मैले पनि प्रयास जारी राखेँ।'
वर्षौं मिहिनेत गरेपछि दिनेशले पहिलो रेकर्ड बनाएर आफूलाई नपत्याउनेहरूलाई जवाफ दिए। त्यसपछि पनि उनी रोकिएनन्, थप तीन रेकर्ड बनाए।
यति मात्र होइन, दिनेश प्रतिभा देखाउने चर्चित अमेरिकी कार्यक्रम 'अमेरिकाज गट ट्यालेन्ट' मा पनि छानिएका छन्।
'भिडिओ र रेकर्डका प्रमाणपत्र पठाएपछि छानिएको हुँ,' उनले भने, 'सन् २०२१ को सिजनमा म फिचर हुने कुरा छ। त्यहाँ पनि एउटा विश्व रेकर्ड बनाउनेछु।'
दिनेश आफ्नो प्रतिभा देखाएर मनोरञ्जन पनि प्रदान गर्छन्। लकडाउन बेला उनले उल्टी हानेर हाफप्यान्ट लगाएका थिए। यसमा हाफप्यान्ट अरूले समातेको हुन्छ, उल्टी हानेर त्यसभित्र दुवै खुट्टा पसाल्नुपर्छ। उनका अनुसार यसरी उल्टी हानेर हाफप्यान्ट लगाउने उनी विश्वका तेस्रा पार्कर हुन्।
पछिल्ला १८ वर्ष शरीरलाई हावामा मर्काइरहेका उनमा पार्करप्रतिको भोक अझै मेटिएको छैन।
'अभ्यास गर्न थालेको १८ वर्ष भइसक्यो। आजलाई पुग्यो भनेर रोकिन मन लाग्दैन। सधैं नयाँनयाँ तरिकामा हावामा शरीर मर्काउन मन लागिरहन्छ। सधैं नयाँ नयाँ कौशल सिकिरहेको हुन्छु,' उनले भने।
उनलाई उफ्रिँदा, हाम फाल्दा डर नलाग्ने भने होइन। त्यसैले आफूले सक्ने र आत्मविश्वास भए मात्र यी काम गर्छन्।
दिनेशको रहर छ- एक विन्दुबाट अर्को विन्दुमा जाने क्रममा बाधा पार गर्दै छिटो पुग्न सिकाउने पार्कर खेलको एकेडेमी बनाउने।
त्यसअघि उनी पाँचौ विश्व रेकर्ड बनाउने योजनामा छन्- लगातार २४ घन्टा ट्राम्पोलिनमा उल्टी हानेर। उनका अनुसार यो रेकर्ड बनाउन २४ घन्टामा कम्तिमा २ हजारपटक उल्टी हान्नुपर्छ। त्यस क्रममा एक घन्टामा पाँच मिनेट 'ब्रेक' लिन पाइन्छ।
'२४ घन्टा टिक्न अभ्यास र स्टामिना चाहिन्छ,' उनले भने, 'यो रेकर्ड बनाउन २४ घन्टा कसरी टिक्ने भन्ने सोच्नुपर्छ।'