शनिबार राति साविकको समयमा सुतेका उसुका राष्ट्रिय खेलाडी वीरमान वाइबा त्यसपछि कहिल्यै नउठ्ने गरी संसारबाट बिदा भए।
जन्मथलो काभ्रेको बेथानचोकमा साँझ फुटबल खेलेर घर पुगेका उनी खाना खाएर सुत्दासम्म सामान्य अवस्थामै थिए। आइतबार विहान ढिलासम्म नउठेपछि परिवारले हेर्दा उनी मृत अवस्थामा फेला परे।
भक्तपुर अस्पतालमा गरिएको पोस्टमार्टमको रिपोर्ट आउन अझै केहि दिन लाग्ने भएपछि मृत्युको कारण खुलेको छैन। धुलिखेल अस्पतालले सामान्य अवस्थामा निधन भएको भन्दै पोस्टमार्टम गर्न नमानेपछि भक्तपुर अस्पतालमा पार्थिव शरीर ल्याइएको थियो।
२७ वर्षीय वीरमानको निधनमा सिंगो खेलकुद जगत स्तब्ध बनेको छ।
सम्बन्धित समाचार : उसुका राष्ट्रिय खेलाडी वीरमानको अल्पआयुमै निधन
त्रिभुवन आर्मी क्लबको उसु टिममा आबद्ध वीरमानले २०६९ देखि उसु खेल्न थालेका थिए। त्यसअघि उनले क्युकेसिन कराते र किक बक्सिङ खेलेका थिए। क्युकेसिनमा उनले एसियन स्तरको प्रतिस्पर्धामा पदक जितेका थिए। तर त्यो अफिसियल प्रतिस्पर्धा थिएन।
उनी अफिसियल खेलबाट देशको प्रतिनिधित्व गर्न चाहान्थे। त्यसैले उनले कराते र किक बक्सिङसँगै उसु पनि खेल्न थाले। उसुको सान्सौं (फाइट) विधा खेल्ने उनी २०६९ मा त्रिभुवन आर्मी क्लबको उसु टिममा आबद्ध भएका थिए।
२०७० मा आयोजना भएको राखेप लुम्बिनी च्याम्पियनसिप उनले आर्मीमा आबद्ध भएपछि खेलेको पहिलो राष्ट्रिय प्रतियोगिता हो।
२०७४ मा भएको राखेप च्याम्पियनसिपमा उनले सान्सौंको ६५ केजी तौल समूहमा स्वर्ण जितेका थिए। इटहरीमा भएको प्रतिस्पर्धामा स्वर्ण जितेसँगै उनी १८औं एसियाली खेलकुदका लागि छनोट हुन सफल भएका थिए।
वीरमानले एसियाली खेलकुदमार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गर्दै थिए। त्यसैले उनले पहिलो प्रतियोगितालाई स्मरणीय बनाउनका लागि कडा मिहिनेत गरे। दुर्भाग्य एसियाली खेलकुदअघि उनको ढाडको नसामा समस्या आयो। राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा उनको अप्रेशन गरियो।
अप्रेशनपछि उनी प्रतिस्पर्धाका लागि इन्डोनेसियाको जाकर्ता पुगेका थिए। तर स्वास्थ्यले साथ दिएन। नेपाली मेडिकल टिमको उचित सल्लाह नपाएका उनी अन्तिम समयमा प्रतिस्पर्धामा उत्रन सकेनन्। देशका लागि पदक जित्ने सपना बुनेर इन्डोनेसिया पुगेका उनी अमिलो मन बनाएर नेपाल फर्किए।
प्रतिस्पर्धामा उत्रन नसकेपछि राष्ट्रिय खेलकुद परिषद्ले उनलाई हेर्ने नजर सकारात्मक भएन। त्यसैले उनलाई राष्ट्रिय प्रतियोगितामा उत्रने अवसर दिइएन। जसका कारण उनले १३औं दक्षिण एसियाली खेलकुद (साग) को छनोट नै खेल्न पाएनन्।
जुन प्रतियोगितालाई उनले जीवनकै सबैभन्दा ठूलो र महत्वपूर्ण मानेका थिए, त्यहि प्रतियोगिताको छनोटमै बञ्चित हुनु पर्दा उनी 'फ्रस्ट्रेट' हुने गरेको उनका सहकर्मी बताउँछन्।
उनको निधनमा त्रिभुवन आर्मी क्लबको उसु टिमले अहिले पनि विश्वास गर्न सकेको छैन।
'मिहिनेत निरन्तर गर्ने र अनुशासनमा रहने खेलाडी गुमाउनु पर्दा निकै पीडा भएको छ,'आर्मीका उसु प्रशिक्षक राजीव महर्जनले भने।
महर्जनका अनुसार वीरमानले नेपालका लागि एसियन र सागबाट पदक जित्ने लक्ष्य बनाएका थिए। त्यसैले उनी टिममा मात्र होइन एक्लै पनि प्रशिक्षण गर्थे।
'आर्मीको उसु टिमले एउटा खम्बा गुमाएको छ। उनले दिएको योगदानलाई आर्मीले सधैं सम्मान गर्नेछ,' महर्जनले भने।