ओलम्पिकमा नेपाली श्रृंखलाः २००७ सालमा प्रजातन्त्र आएपछि नेपाल अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो पहिचान बनाउन चाहन्थ्यो। त्यसका लागि खेलकुद उत्तम विकल्प थियो।
सन् १९५१ मा भारतको नयाँ दिल्लीमा आयोजित पहिलो एसियाली खेलकुदमा भाग लिनु नेपालका लागि एउटा अवसर थियो।
पहिलो एसियाली खेलकुदमा नरशमशेर 'चिफ दि मिसन' तोकिएका थिए। नेपाली टोलीको नेतृत्व कृष्णबहादुर बर्मालाई थियो।
यो नै नेपालले औपचारिक रूपमा भाग लिएको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो। जहाँ नेपाली सेनामा आबद्ध खेलाडीले भाग लिएका थिए। यही प्रतियोगितामा भाग लिएका सेनाका गजराज जोशी अन्तर्राष्ट्रिय मञ्चमा नेपालको तर्फबाट दौडिने पहिलो खेलाडी बने।
'देशमा भर्खर प्रजातन्त्र आएको थियो। बाहिरी विश्वसँग कुनै सम्पर्क थिएन,' लेखक रमेश खनाल भन्छन्, 'नेपाल भन्ने पनि राष्ट्र छ, नेपाली जनता यस्ता हुन्छन् भनेर चिनाउन खेलकुद माध्यम बनाइएको थियो।'
एसियाली खेलकुदमा नेपाली र जापानी टोली सँगसँगै बसेको तत्कालीन नेपाली टोलीका नेता कृष्णबहादुर बर्माले उल्लेख गरेका छन्।
'नेपाललाई पनि एसियाली खेलकुदमा आमन्त्रण गरिएको थियो। त्यस बेला नेपालको राजनीतिक वातावरण अस्थिर भए पनि स्वर्गीय त्रिभुवनका कारण जाने अवसर पाइयो,' बर्माले आफ्नो किताब 'जापानमा के-के पाएँ' मा लेखेका छन्, 'एसियाको खेल मैदानमा नेपाली प्रतिनिधिमण्डलको नेताको हौसियतमा मैले जाने अवसर पाएँ।'
नेपाललाई विश्व खेलकुदसँग जोड्ने काम भने नरशमशेरले गरेका थिए। विश्व खेलकुदसँग सम्पर्कमा रहेकाले अन्तर्राष्ट्रिय खेलकुदमा भाग लिन नरशमशेरले पहल गरेका थिए।
'नरशमशेरसँग शक्ति र पैसा, दुबै थियो। नेपाल प्रहरीका महानिरीक्षक समेत भएका नरशमशेरले राजा र प्रधानमन्त्रीलाई मनाएर अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने निर्णय गराउने हैसियत राख्थे,' लेखक खनाल भन्छन्।
एसियाली खेलकुदको पहिलो संस्करण छिमेकी मुलुक भारतमा भएकाले नेपाललाई भाग लिन सजिलो भएको थियो। तर विश्व खेलकुदको 'कुम्भ मेला' ओलम्पिकमा भाग लिन सहज थिएन। ओलम्पिकमा भाग लिन सम्बन्धित देशमा ओलम्पिक कमिटी हुनु अनिवार्य थियो। त्यति बेलासम्म नेपालमा ओलम्पिक कमिटी छँदै थिएन।
नेपालले ओलम्पिकमा भाग लिन पहल गरिनै रह्यो। नरशमशेरकै पहलमा नेपालले सन् १९५२ मा फिनल्यान्डको हेलसिन्कीमा आयोजित १५औं ओलम्पिक अवलोकन गर्न जाने तय भएको थियो।
ओलम्पिकमा जानुअघि नेपाली खेलकुदका विषयमा छलफल गर्न नरशमशेरले बैठक राखेका थिए। बैठकमा तत्कालीन राजा त्रिभुवनसहित युवराज महेन्द्र, हिमालयन र बसुन्धरा, प्रधानमन्त्री मोहन शमशेर लगातय नेताहरू पनि उपस्थित थिए।
त्यही बैठकपछि हेलसिन्कीमा हुने ओलम्पिकका लागि नेपालले दुई जनालाई पठाउने निर्णय भएको थियो। नरशमशेर र कृष्णबहादुर बर्मा जाने तय भएको थियो।
'ओलम्पिकमा पर्यवेक्षकका रूपमा सहभागी भएर त्यहाँको के-कसरी सहभागीता जनाउन सकिन्छ भन्ने थाहा पाउन नरशमशेर र बर्मालाई पठाइएको थियो,' लेखक खनालको भनाइ छ।
नरशमशेर र बर्मालाई तत्कालीन राजा त्रिभुवन, युवराज महेन्द्र, गृहमन्त्री विपी कोइराला, प्रथम भारतीय राजदूत चण्डेश्वरप्रसाद नारायण सिंहको उपस्थितिमा बिदाइ गरिएको थियो।
फिनल्यान्ड भारत हुँदै जानुपर्ने भएकाले बिदाइ कार्यक्रममा भारतीय राजदूतको पनि उपस्थिति थियो।
बिदाइ कार्यक्रममा राखिएको ब्यानरमा अंग्रेजीमा 'द इम्पोर्टेन्ट थिङ इन द ओलम्पिक गेम्स, इज नट टु विन, बट टेक पार्ट (महत्वपूर्ण कुरा ओलम्पिक खेल जित्न होइन, भाग लिन हो)' लेखिएको थियो।
बर्माले आफू र नरशमशेर हेलसिन्की गएको आफ्नो किताब 'जापानमा के-के पाएँ' मा लेखेका छन्।
'हेलसिन्कीमा भएको विश्व ओलम्पिकमा नेपालबाट खेलाडीका रूपमा श्री जनरल नरशमशेर र लेखकलाई स्वर्गीय श्री ५ त्रिभुवनबाट पठाइबक्सियो। नेपालका तर्फबाट विश्व ओलम्पिक खेल हेर्न जाने अवसर पाएँ। त्यहाँ जापनी बन्धुहरूसँग पुनः भेटघाट भयो। नयाँ मित्र नाकायामासँग भेट भयो,' बर्माले आफ्नो हेलसिन्की अनुभव किताबमा उल्लेख गरेका छन्।
हेलसिन्कीबाट फर्किएपछि बर्मा जापान गएका थिए। तत्कालीन युवराज महेन्द्रले बर्मालाई त्यहाँ घरेलु उद्योगबारे पढ्न पठाएका थिए। योसँगै बर्मा जापान जाने पहिलो नेपाली बनेका थिए।
नेपालले हेलसिन्की ओलम्पिकमा पर्यवेक्षकका रूपमा भाग लिए पनि ओलम्पिकमा औपचारिक रूपमा भाग लिन १२ वर्ष कुर्नुपर्यो।
सन् १९६२ मा नेपाल ओलम्पिक कमिटी स्थापना भयो। एक वर्षपछि नेपाल ओलम्पिक कमिटीलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले मान्यता दिएसँगै अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने बाटो खुलेको थियो।
फलस्वरूप नेपालले सन् १९६४ को टोकियो ओलम्पिकमा पहिलो पटक झण्डा फहराउने अवसर पायो। पहिलो औपचारिक सहभागितामा नेपालका ६ जना खेलाडीले भाग लिएका थिए।
आवरण तस्बिर स्रोतः नेपाल ओलम्पिक म्युजियम
(यो स्तम्भ पाक्षिक रूपमा प्रकाशन हुनेछ।)
यी पनि पढ्नुहोस्ः