दशरथ रंगशाला समयमै तयार हुन नसक्दा कुवेतविरुद्धको खेल 'न्यूट्रल भेन्यू' मा खेल्न नेपाल बाध्य हुन पर्यो। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी मंसिर ३ का लागि तय खेल भुटानमा खेल्न प्रस्ताव गरेको छ। तर कुवेतले भुटानमा खेल्न आनाकानी गरिरहेको छ।
दशरथ रंगशालामै दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन समारोह आगामी मंसिर १५ मा हुने तय छ। सागअन्तर्गत फुटबल र एथ्लेटिक्सको प्रतिस्पर्धा यहि हुनेछ।
साग सुरु हुन २३ दिन बाँकी रहदा रंगशालाको भिआइपी प्याराफिटमा अझै छानो हालिएको छैन। जसका कारण साग नै शंकाको घेरामा परेको छ।
छानोको 'बेस'को रुपमा रहेको १९ वटा पिल्लरमध्ये अहिलेसम्म ५ वटा मात्र ठड्याइएको छ।
चीनमा तयार भएर यहाँ जडान गरिने प्याराफिट नेपाल आइपुगेको छैन। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एयर कार्गो गरेर प्याराफिट ल्याउने प्रयास गरिरहेको छ। यहि हप्ता प्याराफिट आइपुग्ने राखेपको दाबी छ।
छानो हालेपछि मात्र भिआइपी प्याराफिटमा सिट हालिने छ। अहिले साधारण प्याराफिटमा सिट हाल्ने काम भइरहेको छ।
उद्घाटन र समापन हुने रंगशाला बाहिरको स्थिति भद्रगोल छ।
सागका लागि मुख्य चुनौती मानिएको दशरथ रंगशाला अहिलेको गतिमा मंसिर १५ अघि सम्पन्न हुने अवस्था छैन।
सार्क क्षेत्रका ८ देशले भाग लिने साग नजिकिदै गर्दा दशरथ रंगशालाको निरीक्षण गर्न खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा दिनहुँजसो निरीक्षण गर्न पुग्ने गरेका छन्। तर पनि निर्माण गतिले तीव्रता लिन सकिरहेको छैन।