सुर्खेतमा भएको मध्यपश्चिम पृतनापति ट्रफी खेलकुद प्रतियोगिताको उपाधि १९ नम्बर बाहिनी अड्डाले हात पारेको छ। असार ३ गतेदेखि शुरु भएको प्रतियोगिताअन्तर्गतका विभिन्न खेलमा उत्कृष्ट हुँदै १९ नम्बरले उपाधि हात पारेको हो।
प्रतियोगिताको अन्तिम दिन शुक्रबार उत्तरपश्चिम पृतनापति उपरथी सरोजप्रताप राणाले एयरपोर्ट ब्यारेकमा आयोजित समापन कार्यक्रममा १९ नम्बर बाहिनी अड्डालाई ट्रफी हस्तान्तरण गरे।
सर्वोत्कृष्ट तथा विजयी खेलाडीहरुलाई उपरथी राणाका साथै नेपाल प्रहरीका कर्णाली प्रदेश प्रमुख एवं प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशी र सशस्त्र प्रहरी बल ६ नम्बर बाहिनी मुख्यालयका प्रमुख एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रजाभक्त श्रेष्ठले शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका हुन्।
प्रतियोगितामा बक्सिङतर्फ नन्दाबक्स गण, बास्केटबलतर्फ सबुज गण, एथेलेटिक्सतर्फ नयाँ सबुज गण, स्वीमिङतर्फ ज्वालादल गण, भलिबलतर्फ नयाँ सबुज गण, तानडोरीतर्फ नन्दाबक्स गण र तेक्वान्दोतर्फ नयाँ सबुज गण विजयी भएका थिए।
शुक्रबार नयाँ सबुज गण र नन्दाबक्स गणबीच भएको फुटबलको फाईनल खेलमा नन्दा बक्स गण ३–० ले विजयी भएको छ।सर्वोत्कृष्ट तथा विजयी खेलाडीले राष्ट्रियस्तरमा सञ्चालन हुने प्रधान सेनापति ट्रफी खेलकुद प्रतियोगितामा भाग लिनेछन्।