चैतको अन्तिम साता कास्कीको बिरेठाँटीमा साहसिक खेल क्यानोनिङ प्रतियोगिता हुने भएको छ। बिरेठाँटी क्यानोनिङको आयोजना तथा पोखरा क्यानोनिङ प्रालिको सहआयोजनामा अन्नपूर्ण गाउँपालिकाको बिरेठाँटी छहरामा तीन दिन सम्म प्रतियोगिता हुनेछ।
चैत २९ गतेदेखि वैशाख १ गतेसम्म हुने क्यानोनिङ प्रतियोगितामा ५० भन्दा बढीको सहभागीता हुने कार्यक्रम संयोजक पूर्ण कोने गुरुङले बताए।
प्रतियोगिता अन्तर्गत पहिलो चरणमा उत्कृष्ट १०, दोस्रो चरणमा उत्कृष्ट ५ छनोट गरेर अन्तिम प्रतिष्पर्धाबाट बिजेता छनोट गरिने उनले जानकारी दिए । प्रतियोगीले क्यानोनिङ गर्दा लगाएको समयलाई आधार बनाएर बिजेता छनोट गर्ने उनको भनाई छ।
प्रतियोगिताका विजेताले नगद ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगदसहित, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
क्यानोनिङ प्रतियोगिताको अवसरमा राष्ट्रिय कलाकारहरुको लाइभ कन्सर्ट, पुल डान्स पार्टी र स्थानीय कलाकारहरुबाट पञ्चेबाजासहित सांस्कृतिक कार्यक्रम उनले बताए।
प्रतियोगिताले क्यानोनिङ गाइडहरुलाई लाइसेन्स दिलाउन दबाव दिने सहआयोजक पोखरा क्यानोनिङ प्रालि सञ्चालक राम गुरुङले बताए। उनले राज्यले वैधानिक रुपमा लाइसेन्स दिनुपर्ने बताए। प्रतियोगिता सम्पन्न गर्न करिब ५ लाख रुपैयाँ लाग्ने आयोजकको अनुमान छ।