अमेरिकामा हिमाल आरोहणका क्रममा ज्यान गुमाएका अल्ट्रा धावक तथा आरोही सञ्जय पण्डितलाई मंगलबार उपराष्ट्रपति नन्दबहादुर पुनदेखि प्रधानमन्त्री शेरबहादुर देउवासम्मले श्रद्धाञ्जली दिए। सञ्जयको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा राखिएको थियो।
सञ्जयको असार २ गते अमेरिकाको अलस्कास्थित माउन्ट डेनाली हिमाल आरोहण गर्ने क्रममा ‘हाइ अल्टिच्यूट सिक्नेस’ का कारण निधन भएको थियो। विभिन्न प्रकृया पूरा गरी सञ्जयको पार्थिव शरीर सोमबार राती काठमाडौं आइपुगेको थियो। अन्तिम संस्कारका लागि मंगलबारै उनको पार्थिव शरीर गृह जिल्ला प्युठानमा हेलिकप्टरबाट लगिएको छ।
उनको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन बिहानै उपराष्ट्रपति पुन तथा राखेपका संरक्षकसमेत रहेका प्रधानमन्त्री देउवा, सभामुख ओन्सरी घर्तीमगर, उपप्रधान एवं परराष्ट्र मन्त्री कृष्णबहादुर महरा, गृहमन्त्री जनार्दन शर्मा, पूर्व मन्त्रीहरु बामदेव गौतम, वर्षामान पुन, दलजीत विके श्रीपाली, पुरुषोत्तम पौडेल, गगनकुमार थापा, रामशरण महत, राखेपका उपाध्यक्ष लामा टेन्डी शेर्पा, सदस्य–सचिव केशवकुमार विष्ट परिषद् हातामा पुगेका थिए।
स्व. सञ्जयका पिता, दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका धावक जितबहादुर केसी, सागमा ४ स्वर्ण जितेका तेक्वान्दोका पूर्व खेलाडी दिपक विष्ट, विभिन्न राष्ट्रिय खेल संघका पदाधिकारी, प्रशिक्षक, खेलाडी, पनि श्रद्धाञ्जली सभामा उपस्थित थिए।
सञ्जयको पार्थिव शरीरमा उपराष्ट्रपति पुन, प्रधानमन्त्री देउवा र उपप्रधान एवं परराष्ट्र मन्त्री महराले राष्ट्रिय झण्डा, राखेपका उपाध्यक्ष शेर्पा र सदस्य–सचिव विष्टले राखेपको झण्डा तथा सञ्जय आफै अध्यक्ष रहेको नेपाल माउन्टेन रनिङ संघका उपाध्यक्ष जितबहादुर केसीले संघको झण्डा ओढाएका थिए।
सञ्जयप्रति श्रद्धाञ्जली दिँदै प्रधानमन्त्री देउवाले भने, ‘एक साहसिक युवाको असमायिक निधनप्रति दुःख लागेको छ।’