त्रिभुवन आर्मीलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पाखा लगाउँदै मोरङ–११ झापाको दूधेमा जारी प्रथम टुबोर्ग दूधे गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
दूधे खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो चरणको तेस्रो खेलमा विभागीय त्रिभुवन आर्मी उपाधि होडबाट बाहिरियो ।
निर्धारित ९० मिनेटको समय सिमामा खेल गोलरहित बराबरीमा टुंगिएपछि निर्णयका लागि खेल टाइब्रेकरमा धकेलिएको थियो। आर्मीका दीपक गुरुङ र योद्धा शाहीले प्रहार गरेको बल मोरङका गोल रक्षक सुरज अधिकारीले क्याच गरे।
आर्मीका कैलाश बस्नेत र पदम तामाङले प्रहार गरेको गोलले जाली चुमेको थियो ।
मोरङकका लागि दीपक राई, सुनिल खड्का, मिक्चेन तामाङ र विक्रम लिम्बुले गोल गरेका थिए।
आर्मीका पहिलो रोजाईका खेलाडीहरु नवयुग श्रेष्ठ, भरत खवास, विकेश कुथु लगायत ताजकिस्तानसँग हुने खेलको तयारीका लागि बन्द प्रशिक्षणमा रहेकाले आर्मीलाई समस्या भयो। पहिलो हाफसम्म दुवै टोली आक्रमक नबन्दा पहिलो र दोस्रो दुवै हाफ गोलरहित बराबरीमा टुंगिएको थियो ।
खेलको २३ औं मिनेटमा दिपक राईको शक्तिशाली फ्रि–किक आर्मीका गोल रक्षक महेश्वर श्रेष्ठले पञ्च गरेर बाहिर हुत्याइदिएका थिए। ३६औं मिनेटमा मोरङका कप्तान दीपक राईको प्रहार बारमा लागेर फर्किएको थियो।
खेलको म्यान अफ द म्याच मोरङका गोल रक्षक सुरज अधिकारी भए। उनले नगद ५ हजार पाए। शनिबार हुने पहिलो चरणको अन्तिम खेल रूपन्देही–११ र शसस्त्र प्रहरीको एपीएफ, काठमाडौंबीच हुने आयोजकले जनाएको छ ।