काठमाडौंका शिशिर महर्जनलाई पहिल्यैदेखि कला र फोटोग्राफीमा रूचि थियो। विभिन्न खालका सामान बनाइरहन्थे। त्यसैले सानातिना फर्निचर बनाउनेदेखि आवश्यक अरू चिजबिज घरमै थिए।
कोरोना महामारी फैलिएका बेला उनको काम रोकियो। घरमै हुँदा समय बिताउन शिशिरले एक दिन छालाको ब्याग बनाए र श्रीमती रागिनीलाई देखाए।
महर्जन दम्पतीलाई नै त्यो ब्याग मनपर्यो। उनीहरूले यसैलाई व्यवसाय बनाउन सकिने सम्भावना देखे।
'हामी दुई जना फरक पेसामा थियौं। कोरोनाको फुर्सदमा बनाएको लेदरको ब्याग राम्रो भयो, त्यसैलाई व्यवसाय बनाउने सोच्यौं,' शिशिरले भने।
रागिनीलाई मार्केटिङको ज्ञान थियो। उनीहरूले घरमा भएको लेदरबाट केही वालेट पनि बनाए। सुरूमा बनाएका वालेट आफन्तजन र साथीहरूलाई दिए। सबैतिरबाट राम्रो प्रतिक्रिया पाएपछि यसको बजार छ भन्नेमा ढुक्क भए।
'हामीले केही समय बजार अध्ययन गर्यौं र राम्रो सम्भावना देख्यौं,' रागिनीले भनिन्, 'त्यसपछि हामीलाई लगानी गरेर व्यावसायिक रूपमा अघि बढ्न हौसला मिल्यो। पहिलो चरणमा १० लाख रूपैयाँ लगानी गर्यौं।'
लेदर वालेट बनाउन उनीहरूले 'बौचा क्राफ्ट' नाम जुराए। रागिनीका अनुसार नेवार भाषामा 'बौचा' शब्दले 'पुरूष' भन्ने अर्थ दिन्छ। पुरूषले बोक्ने वालेट बनाउने भएकाले सोहीअनुसार नाम जुराएको उनले बताइन्।
शिशिरले इन्टरनेटमा भिडिओ हेरेर अनेक आइडिया र डिजाइन बनाए। उनी कटिङ गर्थे, रागिनी सिउने काम गर्थिन्। वालेट तयार भएपछि उनीहरूले सामाजिक सञ्जालमा 'बौचा क्राफ्ट्स' नामको पेज बनाएर फोटा खिचेर हाले। टिकटकमा भिडिओ पनि राखे। ग्राहकहरूले चासो देखाएर अर्डर गर्न थाले।
पहिलो चरणमा उनीहरूले सात डिजाइनका सयवटा वालेट बनाएका थिए।
'त्यो पहिलो उत्पादन यसरी बिक्री भयो, पछिको अर्डर पूरा गर्न कर्मचारी नै राख्नुपर्ने अवस्था आयो,' रागिनीले भनिन्, 'त्यसपछि छिमेकीहरूलाई तालिम दियौं। उहाँहरूले बौचामा काम गर्नुभयो।'
तालिम पाएका पाँच जना कर्मचारी भएपछि रागिनी मार्केटिङ र व्यवस्थापनतिर लागिन्। शिशिर डिजाइनसँगै सामान उत्पादनको काममा कर्मचारीका साथ व्यस्त भए।
उनीहरूले काठमाडौंको संकटास्थित आफ्नै घरमा कारखाना बनाए। यसरी महर्जन दम्पतीले बौचा क्राफ्ट्सलाई व्यावसायिक रूपमा अघि बढाए।
उनीहरूले साधारण र फोल्डिङ वालेटसँगै कि-रिङ, पासपोर्ट कभर र पेटी पनि बनाउन थाले। अहिले ल्यापटप, क्यामरा र नोटबुकको कभर, घडीको फित्ता पनि पाइन्छ।
यी उत्पादनको मूल्य दुई सय ५० देखि पाँच हजार रूपैयाँसम्म पर्छ।
'लेदर सामानको फेसन जाँदैन। एकपटक किनेपछि लामो समय टिक्छ,' रागिनीले भनिन्, 'हातले सिएर बनाएकाले आकर्षक पनि छ। एकपटक किनेपछि मर्मतसम्भारमा निःशुल्क सेवा पनि दिएका छौं।'
उनीहरू ग्राहकको अर्डरअनुसार डिजाइन गरेर पनि सामान बनाइदिन्छन्। आजकाल महिलाहरूले लेदर वालेट बोक्न थालेकाले डिजाइन थप्दै लगेको रागिनी बताउँछिन्। हालै महिलाका लागि 'साइड ब्याग' ल्याएका छन्।
रागिनीका अनुसार हाल मासिक पाँच सय वटासम्म वालेट उत्पादन हुन्छ। अरू सामान पनि बजारको मागअनुसार तयार हुन्छ। कहिलेकाहीँ संस्थागत अर्डर पनि आउँछ। उनीहरू काठमाडौंमा हुने नेपाली उत्पादन तथा व्यापार मेलामा स्टल पनि राख्छन्। स्टलले व्यवसाय बढाएको रागिनीको भनाइ छ।
अहिले बौचा क्राफ्ट्सका उत्पादन ठमेलको 'को-क्रिएटिभ' मा पनि पाइन्छ। चाँडै काठमाडौं, ललितपुर र पोखराका पसलहरूमा पुर्याउने योजना छ।
'अहिले आफ्नो पसल खोल्ने योजना छैन। बरू नयाँ उत्पादनको अध्ययनमा लागेका छौं,' रागिनीले भनिन्, 'सामान थप्दै व्यवसाय बढाउने सोच छ। बौचालाई नेपाली ब्रान्ड बनाउने सपना छ।'
(बौचा क्राफ्ट्सको फेसबुक पेजमा जान यहाँ र इन्स्टाग्राममा जान यहाँ क्लिक गर्नुहोस्)
सम्पादकीय नोटः तपाईंसँग पनि आफ्नो 'नेपाली ब्रान्ड' को कथा छ भने हामीलाई ([email protected]) सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं।
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)