झापाका एउटै वडामा भएका दुई खेल मैदानमा अलग अलग गोल्डकप हुने भएको छ। शिवसताक्षी नगरपालिकाको ११ वडा स्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेलमैदान झिलझिले र दुधेको दुधे खेलमैदानमा गोल्डकप हुने भएको हो।
यो सिजनको पहिलो गोल्डकप झापाको दूधेमा हुने भएको छ । दुधे युथ क्लबले आइतबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर प्रथम संस्करणको गोल्ड कपको आयोजना गर्न लागेको बताएको छ। गत वर्षको सिजनमा झापामा ५ वटा गोल्डकप भएका थिए । सताक्षी, शरणामति, सुरुङ्गा, झापा र काकडभिट्टा गोल्डकप भएको थियो।
दुधेको खेलमैदानमा असोज ४ गतेदेखि सुरू हुने प्रतियोगितामा दुई विभागीयसहित ७ वटा ए डिभिजनका टिमले सहभागिता जनाउने आयोजक समितिका अध्यक्ष सन्तोष थोप्रा लिम्बूले सेतोपाटीलाई बताए। उनका अनुसार नेपाल आर्मी, एपीएफ, रुपन्देही ११, चर्च ब्वाइज, मोरङ ११, रमपम झापा ११, र हिमालयन शेर्पा मैदानमा उत्रनेछन् । यस्तै आयोजक दुधे युथ क्लवले पनि स्थानीयस्तरका अनुभवी खेलाडीको टिम तयार गर्ने र प्रतियोगितामा सहभागी हुने अध्यक्ष लिम्बुले बताए।
प्रतियोगिताको फाईनल खेल असोज ११ गते हुने तय भएको छ।
दुधे गोल्डकपका विजेताले नगद ३ लाख १ हजार नगदसहित मेडल ट्रफी र प्रमाण पत्र पाउनेछन् भने उपविजेताले नगद १ लाख ५१ हजारसहित मेडल ट्रफि र प्रमाण पत्र पाउने आर्थिक विभाग प्रमुख यामनाथ काफ्लेले बताए।
प्रतियोगिता सम्पन्न गर्न आयोजकले ३६ लाख रुपैयाँको अनुमानित खर्च हुने बताएको छ। आयोजकका अनुसार प्रतियोगिताको टाइटल स्पोन्सर खोजी भइरहेको छ । प्रतियोगिताको सह–आयोजक सतासीधाम जेसिज र लायन्स क्लब अफ शिवसताक्षी छन्।