नेपालले बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ। आगामी कात्तिक २७ गते बिहीबार नेपाल र बंगलादेशबीच फिफा विन्डोमा अन्तर्राष्ट्रिय खेल हुन लागेको अखिल नेपाल फुटबल संघ (एन्फा) को भनाइ छ।
बंगलादेशमा हुने उक्त खेल साँझ पौने आठ वजे सुरू हुनेछ। यसअघि अफगानिस्तानसँग बंगलादेशले खेल्ने तय भएको थियो। तर अफगानिस्तानसँगको खेल रद्द भएसँगै बंगलादेशले नेपाललाई बोलाएको हो।
यद्यपी यो खेलका लागि नेपालको प्रशिक्षकको टुंगो भने छैन। मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएको बिहीबार मात्र सार्वजनिक भएको थियो।
नेपालले बंगलादेशसँग खेलेको एक सातापछि मलेसियासँग अर्को खेल खेल्नेछ। नेपालले एएफसी एसियन कप छनोटअन्तर्गत मलेसियासँग मंसिर २ मा आफ्नो पाँचौ खेल खेल्नेछ।
मुख्य प्रशिक्षकले राजीनामा दिएपछि अब एन्फाले दुवै खेलका कार्यवहाक प्रशिक्षक नियुक्त गर्ने एन्फा महासचिव किरण राईको भनाइ छ।
मलेसियाविरूद्धको उक्त खेल घरेलु मैदानमा खेल्नु पर्ने भए पनि दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता नपाउँदा उक्त खेल मलेसियमै खेल्नु पर्ने बाध्यता छ।
एसियन कप छनोटका यसअघिका चार खेलमा नेपालले रसको प्रशिक्षणमा खेल्दा चार खेल्दा सबै खेलमा पराजय भोगेको थियो।
मलेसिया र लाओससँग एक एक खेल भियतनामसँग दुवै खेलमा पराजित भएसँगै नेपाल छनोटबाट बाहिरिसकेको छ।