नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० महिला च्याम्पियनसिपमा तेस्रो खेलमा जित निकालेको छ।
बंगलादेशमा चार टिमबीच डलब राउन्ड रोबिनको आधारमा भइरहेको दोस्रो राउन्डमा नेपालले श्रीलंकामाथि ७-० गोलको जित निकालेको हो।
अघिल्लो राउन्डमा पनि नेपालले श्रीलंकालाई ७-० गोलले नै हराएको थियो।
बिहीबार आफ्नो तेस्रो जित निकाल्ने क्रममा नेपालका लागि समिक्षा मगर र कुसुम खतिवडाले दुई दुई गोल गरे।
पहिलो हाफमा पूर्णीमा राई र सरिता नाथले एक एक गोल गर्दा कुसुम खतिवडाले दुई गोल गर्न सफल भए।
समिक्षा मगरले दोस्रो हाफमा दुई गोल गर्दा बिर्सना चौधरीले एक गोल थपिन्।
बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा जारी प्रतियोगितामा नेपालले पहिलो खेलमा भुटानलाई ६-१ ले पराजित गर्दा आयोजक बंगलादेशसँग ३-२ ले हारेको थियो।
जितसँगै नेपालले ४ खेलबाट ९ अंक बटुलेको छ । ३ खेलबाट घरेलु बंगलादेशको ९ अंक छ ।
अब नेपालले भुटानसँग शनिबार र सोमबार बंगलादेशसँग खेल्नेछ। लिग चरणपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ।