नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु-२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा श्रीलङ्काविरुद्ध शानदार जित निकालेको छ ।
बङ्गलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा आज सम्पन्न खेलमा नेपालले श्रीलङ्कालाई ७-० ले गोलअन्तरले पराजित गरेको हो । खेलको निर्धारित समयभन्दा करिब डेढ घण्टा ढिलो सुरु भएको खेलमा नेपालले पहिलो हाफमा पाँच गोल ग¥यो भने दोस्रो हाफमा दुई गोल थप्यो ।
नेपालको जितमा मीनाले ह्याट्रिक गरिन् । उनले खेलको आठौँ, ४२औँ र ७०औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । साथै पूर्णिमा राईले दुई गोल गरिन् भने समीक्षा मगर र सरिता नाथले एक÷एक गोल गरे ।
जितसँगै नेपालले ३ खेलबाट ६ अङ्क बटुलेको छ । समान खेलबाट बङ्गलादेशको ९ अङ्क छ । नेपालले पहिलो खेलमा भुटानलाई ६-१ ले पराजित गरेको थियो । दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो । श्रीलङ्का भने प्रतियोगितामा जितविहीन छ ।
खेलको आठौ मिनेटमै नेपालले अग्रता लियो । नेपालको लागि मीनाले सुरुवाती गोल गरिन् । त्यसपछि खेलको १३आँै मिनेटमा समीक्षाले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् ।
खेलको ४२औँ मिनेटमा मीनाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रता बढाइन् । त्यसपछि पूर्णिमा एक्लैले पहिलो हाफमा दुई गोल थपिन् ।
खेलको ७०औँ मिनेटमा मीनाले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन् । त्यसपछि दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा सरिताले अर्को गोल थपिन् ।