अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डलाई पत्राचार गर्दै एएफसी एसियन कप छनोटका दौरान भएको विवादको विषयमा ‘घटना विवरण’ दिन पत्राचार गरेको छ।
उज्वेकिस्तानमा भएको एसियन कप छनोटका दौरान कप्तान छनोटको विषयमा प्रशिक्षक र एन्फा अफिसियलबीच विवाद भएको थियो।
सो विवादको क्रममा भएको ‘वास्तविकता’ बारे जानकरी दिन भन्दै एन्फाले पत्राचार गरेको प्रवक्ता सुरेश शाहले जानकारी दिए।
‘एसियन कप छनोटका दौरान भएको घटना विवरण के हो? वास्ताविकता के हो?’ भन्दै एन्फा सचिवालयले तीन दिनअघि पत्र पठाएको हो, ’ शाहले भने, 'टिम व्यवस्थापन र प्रशिक्षकको भनाइ फरक फरक आएपछि हामीले वास्ताविकता बुझ्न खोजेका हौ।'
यद्यपी यो विषयमा प्रशिक्षक वाइल्डले जवाफ दिइनसकेको उनले बताए।
छनोटको महत्वपूर्ण तथा निर्णायक खेलमा उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि नेपाल एसियन कपमा छनोट हुन असफल भएको थियो।
त्यसपछि वाइल्डले द काठमाडौं पोस्टलाई अन्तर्वार्ता दिँदै एन्फा व्यवस्थापनको आलोचना गरेका थिए भने उतैबाट बेल्जियम गएका थिए।
नेपाल फर्किएपछि टिम व्यवस्थापनले प्रशिक्षकका कारण कप्तानको विषयमा विवाद भएको दाबी गरेको थियो।
प्रशिक्षकले घटनाको विषयमा जानकारी दिएपछि उनको सम्झौताको विषयमा एन्फाले निर्णय गर्नेछ। वाइल्ड नेपाली एक वर्षका लागि महिला टोलीको प्रशिक्षक नियुक्त भएका थिए।