नेपाली महिला राष्ट्रिय फुटबल टोलीको कप्तान विवादबारे टोली व्यवस्थापनले प्रष्टिकरण दिएको छ।
बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) मा पत्रकार सम्मेलन गर्दै एएफसी एसियन कप छनोट खेल्न उज्वेकिस्तान गएको नेपाली टोलीकी हेड अफ डेलिग्रेट्स सरिला श्रेष्ठसहितको टोली व्यवस्थापनले विवादबारे प्रष्टिकरण दिएका हुन्।
श्रेष्ठले नेपालमै हुँदा कप्तान घोषणा गरेर अघि बढ्न आग्रह गर्दा प्रशिक्षक प्याट्रिक डे वाइल्डले अस्वीकार गरेको श्रेष्ठको भनाइ छ।
उज्वेकिस्तानमा पुगेपछि पनि प्रशिक्षकले अन्तिम समयसम्म पनि कप्तानको विषयमा जानकारी दिन अस्वीकार गरेको उनले बताइन्।
‘हामीलाई खेलको म्याच कमिसनरले बारम्बार खेलको प्लेइङ-११ र कप्तानको नाम दिन आग्रह गरिरहनु भएको थियो,’ श्रेष्ठले भनिन्, ‘प्रशिक्षकसँग यो विषयमा कुरा गर्दा ९० मिनेटअघि मात्र नाम दिने बताउनु भयो। साथै नाम दिए हामीले बाहिर सार्वजनिक गर्ने समेत शंका गर्नुभयो।’
अन्तिम समयसम्म पनि उनले नाम नदिएपछि एएफसीको म्याच कमिसनरले जरिवाना हुन सक्ने भन्दै सचेत गराएको श्रेष्ठले बताइन्।
‘प्रशिक्षकले प्लेइङ-११ सहित कप्तानको नाम दिएपछि हामीले एन्फालाई पठाउने हो। अनि एन्फाले एएफसीलाई पठाउनु पर्छ,’ श्रेष्ठले बताइन्, ‘हामीले प्लेइङ लिस्ट दिन भनिरहदा प्रशिक्षकले खेलको ९० मिनेटअघि भिडिओ देखाएर लिस्टको फोटो खिँच्न भन्नु भयो। तर त्यहाँ कप्तानको नाम थिएन। तर हामीलाई एन्फा र एएफसीबाट निरन्तर दबाब आएपछि सिनियर खेलाडीको आधारमा रेनुका नगरकोटीको नाम कप्तान राखेर पठायौं।’
तर मैदान छिर्नुअघि प्रशिक्षकले कप्तानको जिम्मेवारी फरवार्ड सावित्रा भण्डारी साम्बा भएको बताएको उनले बताइन्।
‘हामीलाई जो कप्तान हुँदा पनि कुनै समस्या थिएन। तर एएफसीको नियमअनुसार ९० मिनेटअघि कप्तानसहितको नाम दिनुको विकल्प थिएन। यसमा प्रशिक्षकले एएफसीको नियम मान्नु भएन,’ श्रेष्ठले भनिन्।
खेल सुरु भएपछि एएफसीका म्याच कमिसनरले अर्कै खेलाडीको हातमा कप्तानको ब्यान्ड भएको भन्दै प्रश्न उठाएको श्रेष्ठको दाबी छ। प्रशिक्षकले साम्बालाई पहिलो खेलमा कप्तानीको जिम्मेवारी दिए पनि एएफसीको म्याच रिपोर्टमा भने रेनुकाकै नाम कप्तानको रुपमा उल्लेख छ।
यसअघि कप्तानको विषयमा प्रशिक्षकले अनावश्यक विवाद झिकेको भन्दै एन्फा व्यवस्थापनको आलोचना गरेका थिए। तर एन्फा व्यवस्थापनले त्यसको खण्डन गर्दै प्रशिक्षकको निर्देशनअनुसार काम गरेको र कुनै विकल्प नभएपछि एएफसीको जरिवानाबाट बच्नका लागि रेनुकाको नाम कप्तानको रुपमा दिएको बताएको छ।
यस्तै प्रधानमन्त्रीले उज्वेकिस्तानविरूद्धको खेलअघि गरेको भिडिओ कन्फरेन्सको विषयमा पनि श्रेष्ठले प्रतिक्रिया दिइन्। उनले प्रशिक्षककै अनुमतिमा टोलीसँग प्रधानमन्त्रीको कुरा भएको र प्रशिक्षकले प्रधानमन्त्रीसँग कुरा गर्न कुनै समस्या नभएको बताएको पनि श्रेष्ठले बताइन्।
सहायक प्रशिक्षकको भूमिकामा रहेका राजेन्द्र तामाङले नेपालमै हुँदा कप्तान परिवर्तन गर्ने जानकारी प्रशिक्षक वाइल्डले दिएको बताए।
‘नेपालमै हुँदा उहाँले कप्तान फेर्दै साम्बा वा गीता रानालाई कप्तान बनाउने बताउनु भएको थियो। तर कहिलेकाँहि अन्जिला सुब्बा नै कप्तान हुन सक्ने भन्नु हुन्थ्यो,’ तामाङले भने, ‘तर उहाँले अन्तिम अवस्थासम्म पनि कप्तानको निर्णय गर्नु भएको थिएन।’
एन्फाका प्राविधिक निर्देशक हरि खड्काले बेल्जियम फर्किएका प्रशिक्षकसँग आफूले कुरा गर्न प्रयास गरिरहेको बताए। साथै उनीसँगको कुराकानीपछि उनले प्रशिक्षकको रुपमा अघि बढ्ने वा नबढ्ने निर्णय हुने समेत बताए।