उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले महिला फुटबल टिमका प्रशिक्षकको असन्तुष्टिबारे गम्भीर बन्न आग्रह गरेका छन्।
मंगलबार काठमाडौंमा एक कार्यक्रममा बोल्दै उहाँले महिला फुटबल टिमका प्रशिक्षकले असन्तुष्टि जनाएको बारेमा ध्यान दिन जरुरी रहेको बताए।
महिला फुटबलले हालका खेलहरुमा राम्रो प्रदर्शन गरेको बताए। प्रशिक्षणका लागि आएका अन्तर्राष्ट्रिय प्रशिक्षकहरुले असन्तुष्टि जनाउनुले नेपाललाई असर पर्ने भन्दै त्यसमा ख्याल गर्न जरुरी रहेको बताए।
स्वस्थ र असल नागरिक उत्पादन गर्न खेलकुदको भुमिका महत्वपूर्ण रहेको बताए। उनले खेलले अनुशासित नागरिक उत्पादन गर्ने बताए। खेल क्षेत्रले विदेशमा काम गर्न जानेहरुको लर्कोलाई स्वदेशमै भविष्य खोज्न सकिन्छ भन्नेकुरा स्थापित गर्न जरुरी रहेको छ ।
उपप्रधानमन्त्री सिंहले भने, ‘खेलकुद जगतलाई खेलाडीदेखि लिएर कोचहरुदेखि लिएर सबैलाई तपाईंहरुले अत्यन्तै प्रतिकुल अवस्थामा पनि अग्रसरताको कारणले नेपाललाई अघि बढाइराख्नुभएको छ। महिलाहरुको फुटबलले पनि रिसेन्ट्ली राम्रै गरेको छ। तर त्यहाँ कोचले डिसस्याटिस्फ्याक्सन जुन जनाएको छ, यस स्पोर्ट्समा। यसमा ध्यान दिनुछ। इन्टरनेशनलबाट कोच गर्न आएकाहरुको असन्तुष्टि भयो भने त्यसले हामीलाई असर गर्नसक्छ त्यसमा ख्याल गर्नुपर्छ । स्वस्थ र असल नागरिक उत्पादन गर्न खेलकुद जगतले राम्रो काम गरेको छ। अनुशासित नागरिक उत्पादन गर्न खेलकुद जगतले धेरै ठूलो योगदान गरिरहेको छ । विदेशमा जाने लर्को लागिरहेको छ, कामको खोजिमा । काम यहीँ गर्दा हुन्छ भन्ने वातावरण बनाउन जरुरी छ।’
एएफसी वुमेन्स एशियन कप छनोट २०२५ मा नेपाली टोली उज्वेकिस्तानसँग पराजित हुँदा एसियन कपमा छनोट हुन असफल भएको थियो। तर बेल्जियमका युईएफए प्रो लाइसेन्स प्रशिक्षक डे वाइल्डले एन्फा नसुध्रिए आफू नफर्किने चेतावनी दिएका छन्। खेलाडीका लागि राम्रो होटल व्यवस्थापनसम्म हुन नसकेको उनको आरोप छ। एन्फालाई योजनामा भन्दा राजनीतिमा बढी रूचि रहेको भन्दै एन्फाको आलोचना गरेका छन्।
-न्युज एजेन्सी नेपाल