जर्मन क्लब बायर लेभरकुसेनका प्लेमेकर फ्लोरियन विर्ट्जलाई अनुबन्ध गर्ने इंग्लिस क्लब लिभरपुलको प्रयास अन्तिम चरणमा पुगेको छ।
लिभरपुलले जर्मनीका प्लेमेकरका लागि तेस्रो औपचारिक प्रस्ताव पेस गरेको थियो, जसमा १०० मिलियन पाउन्ड निश्चित रकम र थप १४ मिलियन पाउन्ड एड-अन (थप भुक्तानी) का रूपमा समावेश थियो।
यदि यो सम्झौता पूरा भएमा सन् २०१८ मा कप्तान भान डाइकलाई ७५ मिलियन पाउन्डमा अनुबन्ध गरेको क्लबको कीर्तिमान तोड्नेछ।
बीबीसी स्पोर्ट्सका अनुसार सम्झौता प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
२२ वर्षीय विर्ट्जले म्यानचेस्टर सिटी र बायर्न म्युनिखको चासोका बाबजुद आफ्नो रोजाइ लिभरपुलजानु रहेको स्पष्ट पारेका छन्।
उनले १७ वर्षको उमेरमा लेभरकुसेनका लागि डेब्यु गरेका थिए। क्लबका लागि १९७ खेलमा ५७ गोल गरेका छन्।
उनले सन् २०२४ मा क्लबलाई पहिलो पटक बुन्डेसलिगा जिताउन मद्दत गरेका थिए र सन् २०२१ मा राष्ट्रिय टोलीमा डेब्यू गरेयता जर्मनीका लागि ३१ खेलमा सात गोल गरेका छन्।