पोल्याण्डका कीर्तिमानी गोलकर्ता रोबर्ट लेवान्डोस्कीले कप्तान पदबाट हटाइए पछि मिखाउ प्रोबिएर्ज प्रशिक्षक रहुन्जेल देशका लागि नखेल्ने घोषणा गरेका छन्।
३६ वर्षीय स्ट्राइकर लेवान्डोस्कीले आफ्नो देशका लागि १५८ खेलमा ८५ गोल गरेका छन्। हालको अन्तर्राष्ट्रिय खेल तालिकाका लागि राष्ट्रिय टोलीमा समावेश छैनन्।
आइतबार पोल्याण्डको फुटबल एसोसिएसन ले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ कि प्रशिक्षक प्रोबिएर्जले इन्टर मिलानका मिडफिल्डर पिओत्र जिलिन्स्कीलाई नयाँ कप्तान नियुक्त गर्ने 'आफ्नो निर्णयबारे रोबर्ट लेवान्डोस्की, सम्पूर्ण टोली र प्रशिक्षण स्टाफलाई व्यक्तिगत रूपमा जानकारी दिएका थिए'।
यो निर्णय पछि स्पेनिस क्लब बार्सिलोनाका खेलाडी लेवान्डोस्कीले सामाजिक सञ्जालमा लेखेका छन् "वर्तमान परिस्थिति र प्रशिक्षकप्रतिको विश्वास गुमाएकाले, उहाँ पदमा रहुन्जेल मैले पोल्याण्डको राष्ट्रिय टोलीबाट नखेल्ने निर्णय गरेको छु। मलाई आशा छ, भविष्यमा मैले विश्वका उत्कृष्ट फ्यानहरूका लागि फेरि खेल्ने मौका पाउनेछु।’
पोल्याण्डको फुटबल संघले मंगलबार फिनल्याण्डविरुद्ध हुने विश्वकप छनोट खेलअघि सोमबार आयोजना हुने पत्रकार सम्मेलनमा प्रशिक्षक प्रोबिएर्जले प्रश्नहरूको जवाफ दिनेछन्।
५२ वर्षीय प्रोबिएर्जले सेप्टेम्बर २०२३ मा प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। तर युरो २०२४ मा उनको टोली समूहको अन्तिम स्थानमा रह्यो र प्रतियोगिताबाट बाहिरिने पहिलो देश बन्यो।
विश्वकप २०२६ को छनोट चरणमा पोल्याण्ड आफ्नो समूहको शीर्ष स्थानमा छ। उसले खेलेका दुई खेलमा दुवै जित हासिल गरेको छ। एक खेलबाट तीन अंकसहित नेदरल्याण्ड्स तेस्रो स्थानमा छ।