नेपाली महिला राष्ट्रिय फुटबल टोली थाइल्यान्डविरूद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि मंगलबार त्यसतर्फ प्रस्थान गर्दैछ।
थाइल्यान्ड जानुअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीको विदाइ गरेको छ। विदाइ कार्यक्रममा अध्यक्ष पंकजबिक्रम नेम्बाङले नेपाली टोलीबाट धेरै आसा गरेकोले उत्कृष्ट खेलका लागि शुभकामना दिए।
नेपाली टोलीकी कप्तान अन्जिला तुम्बापो सुब्बा ग्रिसबाट नेपाल फर्किएर टोलीमा सामेल भएकी थिइन्। फ्रान्समा रहेकी सावित्रा भण्डारी साम्बा र युएईमा रहेकी रेखा पौडेल उतैबाट थाइल्यान्ड पुग्ने एन्फाको भनाइ छ। दुवै खेलाडी मैत्रीपूर्ण खेलअघि त्यहाँ पुग्नेछन्।
यसअघि नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले २३ सदस्यीय टोलीको घोषणा गरेका हुन्।
नेपालले बैंककमा दुई खेल खेल्ने तालिका रहेको छ। पहिलो खेल मे ३० मा बन्द रंगशालामा हुनेछ। जुन २ मा हुने खेल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण हो।
दुवै खेल नेपालले एएफसी महिला एसियन कप अष्ट्रेलिया २०२६ छनोट प्रतियोगिताको तयारीका लागि खेल्न लागेको हो।
छनोट जुन ४ देखि सुरु हुँदैछ। छनोट प्रतियोगितामा नेपाल समूह 'एफ' मा छ।
समूहमा नेपालले आयोजक उज्वेकिस्तान, लाओस र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।
समूह विजेता हुन सके नेपाल सन् २०२६ मा हुने एसियन कपमा छनोट हुनेछ।
नेपाली टोली
• गोलकिपर: अन्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर, उषा नाथ
• डिफेन्डर: अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे, मनमाया दमाई
• मिडफिल्डर: अनिता बस्नेत, विमला चौधरी, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सविता राना मगर, सरस्वती हमाल, सुष्मा तामाङ
• फरवार्ड: साबित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल