नेपाल सुपर लिग (एनएसएल) २०२५ मा साविक विजेता ललितपुर सिटीले लिग चरणका छ खेलमा अपराजित रह्यो।
ललितपुरले तीन खेलमा बराबरी र तीन खेलमा जित निकाल्दै शीर्षमा स्थानमा रहेर पहिलो क्वालिफायरमा पुग्यो। पहिलो क्वालिफायरमा धनगढी एफसीलाई २-१ ले हराउँदै ललितपुर फाइनलमा पुग्यो।
अपराजित रहदै फाइनलमा पुगेको ललितपुरले उपाधिका लागि शनिबार साँझ दशरथ रंशगालामा पोखरा थन्डर्स एफसीसँग प्रतिस्पर्धा गर्दैछ।
पहिलो पटक एनएसएलको फाइनलमा पुगेको पोखराको फाइनल यात्रा सहज भने भएन। उसले लिग चरणका सुरूवाती दुई खेलमा हार ब्यहोरेको थियो। त्यसपछिका चार खेलमा दुईमा जित र दुईमा बराबरी खेलेपछि पोखराले ८ अंक जोडेर चौथो स्थानमा रहँदै प्लेअफमा स्थान बनायो।
एलिमिनेटरमा चितवन एफसीलाई ३-० र दोस्रो क्वालिफायरमा धनगढीलाई १-० गोलले हराएपछि पोखराले फाइनलको यात्रा गरेको हो। पहिलो दुई खेलमा पराजय भोगे पनि पोखरा पछिल्ला ६ खेलमा अपराजित छ।
यस्तोमा पोखराले पहिलो पटक फाइनल पुगेर उपाधि जित्ने लक्ष्य लिएको छ। पोखराका प्रशिक्षक सुमन श्रेष्ठले फाइनलका लागि तयार भएको र राम्रो रणनीति बनाएर उपाधि जित्ने विश्वास गरे। सुरुवाती दुई खेलमा पराजित भएपछि पछिल्ला खेलको लयलाई कामय राखेर उपाधि जित्ने श्रेष्ठले बताए।
पोखराका कप्तान नवयुग श्रेष्ठले ललितपुरविरूद्ध प्रतिस्पर्धात्मक खेल हुने र व्यक्तिगत रुपमा अर्थपूर्ण खेल हुने बताए।
ललितपुरका प्रशिक्षक साइमन ग्रेसनले पहिलो क्वालिफायर जितेपछि एक साताको तयारी गर्न पाएको र रेस्ट पनि राम्रो भएकाले उपाधि जित्ने विश्वास गरे। उनले आफूहरु आत्मविश्वासी रहेको पनि बताए।
ललितपुरका कप्तान अनन्त तामाङले पनि क्वालिफायरपछि एक साताको समय पाएकाले फाइनलका लागि राम्रो तयारी गर्न पाएको बताए।