नेपाल सुपर लिग (एनएसएल) विजेताले ८० लाख रूपैयाँ पुरस्कार पाउने भएको छ।
आयोजक नेपाल स्पोर्ट्स एण्ड इन्भेट मेनेजमेन्टले यो संस्करणको विजेताले ८० लाख पाउने घोषणा गरेको हो।
उपविजेतालाई ३० लाख रूपैयाँ प्रदान गरिनेछ। विजेता र उपविजेता दुवैले पाउने पुरस्कार रकममा १० लाख रुपैयाँ बढाइएको हो।
यो संस्करणको उपाधिका लागि शनिबार दशरथ रंगशाला साविक विजेता ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसीबीच प्रतिस्पर्धा हुँदैछ।
ललितपुरले पहिलो क्वालिफायरमा धनगढी एफसीलाई हराएर फाइनलमा स्थान बनाएको थियो।
पोखराले एलिमिनेटरको खेलमा एफसी चितवनलाई हराएपछि दोस्रो क्वालिफायरमा धनगढीलाई हराएर फाइनलमा स्थान बनाएको थियो।