नेपाल सुपर लिग (एनएसएल) २०२५ को उपाधिका लागि पोखरा थन्डर्स एफसी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुने भएको छ।
आज दशरथ रंगशालामा भएको दोस्रो क्वालिफायरमा धनगढी एफसीलाई १-० गोलले हराउँदै पोखराले फाइनलमा स्थान पक्का गरेको हो।
पोखराको जितमा स्टेफिन समिर बिनोङले गरेको गोल निर्णायक बन्यो। उनले खेलको अन्त्यतिर गोल गर्दै पोखरालाई ललितपुरसँगको भेट पक्का गराए।
उनले खेलको ९०+४ मिनेटमा गोल गरेका थिए। उनले कर्नरबाट आएको बलमा हेडमार्फत् बललाई जाली चुमाए।
यसअघि पहिलो क्वालिफायरमा पनि ललितपुरले धनगढीलाई नै हराएर फाइनलमा स्थान बनाएको थियो।
खेल हेर्न ब्राजिलियन लेजेन्ड फुटबलर रोबर्टो कार्लोस उपस्थित भएका थिए। उनी मंगलबार नेपाल आएका थिए।
बुधबार रंगशालामा पुगेका कार्लोसले खेलअघि दुवै टोलीका खेलाडीसँग हात मिलाएका थिए भने रेफ्रीलाई बल हस्तान्तरण गरेका थिए।
साथै उनले खेलको हाफ टाइममा रंगशालामा फ्रिकिक प्रहार गर्दै प्रदर्शनी गरेका थिए। उनी आजै फर्कने कार्यक्रम छ।
अब उपाधिका लागि पोखरा र साविक विजेता ललितपुर आगामी शनिबार भिड्नेछन्।