पेनाल्टी सुटआउटमा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीलाई हराउँदै सशस्त्र प्रहरी बलको एपिएफ एफसी केपी ओली कप च्याम्पियनसिप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
एन्फा कम्प्लेक्समा आइतबार भएको पहिलो खेलको ट्राइब्रेकरमा ब्ल्याक बुल्सलाई ४–३ ले हराउँदै एपिएफले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो।
पहिलो खेलमा पराजित भएको ब्ल्याक बुल्सले गत माघमा पोखरामा भएको २४औं संस्करणको आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको थियो। अब एपिएफले सेमिफाइनल प्रवेशका लागि संकटा क्लबसँग खेल्नेछ।
निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो।
ट्राइब्रेकरमा एपिएफका गोलकिपर एन्जल श्रेष्ठ नायक बने। उनले ब्ल्याक बुल्सका दुई प्रहार बचाउँदै खेल आफ्नो पक्षमा पारे।
फागुन १८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन्।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन्।
हरेक खेलको विजेता टोलीले २५ हजार र प्लेयर अफ द म्याचले १५ हजार पाउनेछ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा आजदेखि सुरू भएको प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन्।
प्रतियोगिताको दोस्रो दिन सोमबार दुई खेल हुनेछ। पहिलो खेल साढे ११ बजे नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच प्रतिष्पर्धा हुनेछ। दोस्रो खेल दिउँसो ३ बजे आयोजक केपी ओली एफसी र न्यूरोड टिमबिच प्रतिष्पर्धा हुने तालिका छ।