अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपअन्तर्गत आझ साँझ छ बजे म्यानमारविरूद्ध खेल्न नेपाली टोलीमा तीन परिवर्तन गरिएको छ।
नियमित कप्तान तथा गोलकिपर एन्जिला तुम्बापोको स्थानमा अन्जना रानामगरलाई मौका दिइएको छ। रेनुका नगरकोटीलाई कप्तानी दिइएको छ।
यस्तै विमला चौधरीको स्थानमा मिडफिल्डर सरू लिम्बुलाई खेलाइएको छ। यस्तै रेखा पौडेलको स्थानमा रश्मिकुमारी घिसिङ प्लेइङ-११ मा छिन्।
नेपाली टोली
गोलकिपर : अन्जना रानामगर
डिफेन्डर : पूजा राना, गीता राना, विमला विक, समिक्षा घिमिरे।
मिडफिल्डर : प्रिति राई, सरु लिम्बू, रेनुका नगरकोटी (कप्तान)
फरवार्ड : सावित्रा भण्डारी साम्बा, सविता रानागर, रश्मिकुमारी घिसिङ।
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५ अन्तर्गत आज नेपालले लिग चरणको अन्तिम खेलमा म्यानमारसँग खेल्न लागेको हो।
दुवै टोली यसअघि लिग चरणमा लगातार दुई खेल जितेर फाइनल पुगिसकेका छन्। नेपाल र म्यानमार दुवैले किर्गिस्तान र लेबनानलाई पराजित गरेका थिए।
फाइनलअघि आज साँझ ६ बजे खेल हुँदै दुवै टोलीलाई फाइनलको तयारी हुनेछ। दुवैलाई फाइनलअघि एकअर्काका बलियो र कमजोर पक्ष थाहा पाउने मौका हुनेछ।
नेपालले दुवै टोलीलाई १-० गोलले हराएको थियो। म्यानमारले भने लेबनानलाई ३-१ र किर्गिस्तानलाई ५-० गोलले पराजित गरेको थियो।
नतिजाले नेपालभन्दा म्यानमार बलियो देखाएको छ। फिफा वरीयतामा पनि नेपालभन्दा म्यानमार बलियो टोली हो। नेपाल फिफा वरीयतामा १०३औं स्थानमा छ भने म्यानमार ५५औं स्थानमा छ।
नेपाल र म्यानमारको महिला फुटबल टोलीबीच अहिलेसम्म तीन पटक प्रतिस्पर्धा भएको छ। तीन खेलमा नेपाल जितबिहीन छ। दुई खेल म्यानमारले जित्दा एक खेल बराबरीमा सकिएको छ।
नेपाल र म्यानमारबीच सन् २०१८ मा पहिलो पटक प्रतिस्पर्धा भएको थियो। सन् २०२२ को टोकियो ओलम्पिक्सको छनोट खेल खेल्न नेपाल म्यानमार गएको थियो। सो खेल एक एक गोलको बराबरीमा सकियो। नेपालले तेस्रो मिनेटमा सावित्रा भण्डारी साम्बाको पेनाल्टी गोलबाट अग्रता लिए पनि म्यानमारले १४ मिनेटमा बराबरी गोल फर्कायो।
सन् २०१९ मा भारतमा भएको हिरो महिला गोल्डकपमा नेपाल र म्यानमारले दुई पटक प्रतिस्पर्धा गरे। दुवै खेलमा नेपालले हार ब्यहोर्यो।
लिग चरणमा नेपालमाथि म्यानमारले ३-० गोलको जित निकालेको थियो। यद्यपी नेपालले इरान र भारतलाई पराजित गर्दै फाइनलमा स्थान बनायो। फाइनलमा म्यानमारसँग भिड्दा नेपाल फेरि पराजित भयो। नेपालमाथि म्यानमारले फाइनलमा ३-१ गोलको जित निकाल्यो। नेपालका लागि मन्जलीकुमारी योन्जनले पहिलो हाफको इन्जुरी समयमा बराबरी गोल फर्काए पनि म्यानमारले दोस्रो हाफमा दुई गोल गरेको थियो।
म्यानमारले तीन खेलमा नेपालविरूद्ध ७ गोल गरेको छ भने नेपालले २ गोल गर्न सफल भएको छ।