युरोपियन च्याम्पियन्स लिगअन्तर्गत स्पेनिस महारथी रियल म्याड्रिडले अन्तिम १६ को प्लेअफमा इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई समग्रमा ६-३ गोलले हराएको छ।
पहिलो लेगमा ३-२ गोलले हराएको सिटीलाई रियलले बुधबार राति भएको दोस्रो लेगमा ३-१ गोलले पराजित गर्यो।
घरेलु मैदानमा रियलको जितमा केलियन एमबाप्पेले ह्याट्रिक गरे। उनले खेलको चौथो, ३३ र ६१ मिनेटमा गोल गर्दा रियल सजिलै अन्तिम १६ मा पुग्यो। सिटीका लागि निको गोन्जालेजले ९०+२ मिनेटमा गरेको गोल सन्त्वनामै सीमित बन्यो।
सन् २०१२-१३ को सिजनपछि सिटी यति चाडै च्याम्पियन्स लिगबाट बाहिरिएको हो। त्यतिबेला सिटी समूहबाट बाहिरिएको थियो।
लिगका अन्य खेलमा युभेन्ट्स पनि बाहिरिएको छ। युभेन्ट्सलाई पिएसभीले समग्रमा ४-३ गोलले पछि पार्यो। पहिले लेगमा २-१ गोलले पराजित भएको पिएसभीले दोस्रो लेगमा भने ३-१ गोलको जित निकालेर युभेन्ट्सलाई च्याम्पियन्स लिगबाट बाहिर पठाएको हो।
यस्तै पिएसजी भने समग्रमा १०-० को जितसहित अन्तिम १६ मा पुग्यो। पहिलो लेगमा ३-० ले वियजी पिएसजीले बुधबार राति दोस्रो लेगमा ब्रेस्टलाई ७-० गोलले हरायो।
यता बोरुसिया डर्टमन्ड ३-० को जितसहित अन्तिम १६ मा पुग्यो। उसले बुधबार स्पोर्टिङ सिपीसँग गोलरहित बराबरी खेले पनि पहिलो लेगमा ३-० को जित हात पारेको थियो।