नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बाले अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपअन्तर्गत पहिलो खेल गुमाउने सम्भावना छ।
च्याम्पियनसिपमा नेपालले भोलि साँझ पहिलो खेलमा किर्गिस्तानसँग खेल्दैछ। त्यसका लागि सावित्रा फ्रान्सबाट भोलि विहान नेपाल आइपुग्दैछिन्।
‘साम्बा भोलि विहान मात्र नेपाल आइपुग्दैछिन्,’ नेपाली टोलीका प्रशिक्षक राजेन्द्र तामाङले भने, ‘सायद उनले पहिलो खेलमा रेस्ट गर्छिन् होला।’
यसअघि प्रतियोगिताका लागि युएईको लिग खेलिरहेकी रेखा पौडेल शनिबार साँझ नेपाल आइपुगेकी थिइन्। तीन दिनअघि कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा ग्रिसबाट नेपाल फर्किएकी थिइन्।
प्रतियोगिताका सबै खेल फिफा अन्तर्राष्ट्रिय विन्डोजमा हुने भएकाले खेलहरूले अन्तर्राष्ट्रिय मान्यता पाउनेछन्। प्रतियोगितामा नेपालसहित किर्गिस्तान, म्यानमार र लेबननको सहभागिता रहनेछ।
प्रतियोगिताका खेलहरु राउन्ड रोबिन आधारमा खेलिनेछ भने शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ। खेलहरु दिनको २ र साँझको ६ बजे खेलिनेछ।
दशरथ रंगशालामा हुने प्रतियोगिताको टिकट दर साधारण पारापिटतर्फ ५०० र भिआइपीतर्फ एक हजार तोकिएको छ। टिकट खल्ती एपबाट किन्न सकिनेछ।
प्रतियोगिताको लिग चरण र फाइनल गरी नौ दिनमा चार दिन म्याच डे हुनेछन्। नेपालले फागुन ५ मा किर्गिस्तान, फागुन ८ मा लेवनान र फागुन ११ मा म्यानमारसँग खेल्नेछ।
नेपाली टोली
गोलकिपर
एञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ
डिफेन्डर
अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समिक्षा घिमिरे, बिमला चौधरी, मनमाया दमाई
मिडफिल्डर
अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता राना मगर, रेनुका हमाल, सुष्मा तामाङ
फरवार्ड
सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल
खेल तालिका
फागुन ५
म्यानमार भर्सेस लेवनान : दिउँस २ बजे
नेपाल भर्सेस किर्गिस्तान : साँझ ६ बजे
फागुन ८ गते
किर्गिस्तान भर्सेस म्यानमार : दिउँस २ बजे
नेपाल भर्सेस लेवनान : साँझ ६ बजे
फागुन ११ गते
किर्गिस्तान भर्सेस लेवनान : दिउँस २ बजे
नेपाल भर्सेस म्यानमार : साँझ ६ बजे
फागुन १४ गते
फाइनल : साँझ ६ बजे