स्पेनिस ला लिगाअन्तर्गत ओसासुनाविरुद्धको खेलमा लिग लिडर रियल म्याड्रिडका मिडफिल्डर बेलिङघमलाई शनिबार रातो कार्ड दिइयो। उनले रातो कार्ड पाएको खेलमा निराशाजनक एक-एक गोल बराबरी खेलेको रियलले ला लिगाको शीर्ष स्थानमा तीन अंकको अग्रता लिने मौका समेत गुमायो।
गत मंगलबार च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीविरूद्ध रियलको जितमा निर्णायक प्रदर्शन गरेका इंग्लिस मिडफिल्डर बेलिङघमलाई शनिबार रेफ्री जोस लुइस मुनुएरा मोन्टेरोप्रति दुर्व्यवहारपूर्ण र अपमानजनक भाषाको प्रयोग गरेको भन्दै खेलको ३९ औं मिनेटमा सिधा रातो कार्ड देखाइएको थियो।
बेलिङघमले सन् २०२४ को मार्चपछि पहिलो रातो कार्ड पाए। मार्च २०२४ मा भ्यालेन्सियाविरूद्ध २-२ गोलको बराबरी खेल्दा अन्तिम सिट्टी बज्दा उनले रेफ्रीलाई गुनासो गरेकोमा दोस्रो पहेँलो कार्ड पाएका थिए।
शनिबार खेलपछि बेलिङघमले आफूले रेफ्रीको अपमान नगरेको जोड दिँदै निराशा व्यक्त गरेका छन्।
‘मैले भनेको वा नभनेको कुरामा जब रेफ्री निश्चित हुँदैनन् भने गाह्रो हुन्छ र यसले टोलीको प्रदर्शनलाई असर गर्छ,’ उनले भने, ‘मेलै बोलेको कुरा भिडिओमा स्पष्ट रुपमा देख्न सकिन्छ। त्यो क्षण मलाई राम्रोसँग याद छ। त्यतिबेला आफैँलाई केहि भनिरहेको थिएँ।’
उनले रेफ्रीलाई लक्षित गरेर केही पनि नगरेको बताउँदै अघि भने, ‘उहाँले विश्वास गर्नु भएको छ कि मैले उहाँलाई [केही अपमानजनक] भनेको छु। उहाँलाई अपमान गर्ने कुनै उद्देश्य थिएन, कुनै अपमान पनि थिएन।’
खेलपछिको पत्रकार सम्मेलनमा प्रशिक्षक कार्लो एन्सेलोटीले पनि बेलिङघमको बचाउ गरेका छन्।
‘मलाई लाग्छ रेफ्रीले अंग्रेजी राम्रोसँग बुझेनन्। केही आपत्तिजनक थियो भन्ने मलाई लाग्दैन,’ एन्सेलोटीले भने, ‘रेफ्री नर्भस भएर रातो कार्ड दिएका हुन्।’
रियलभन्दा एक अंकले पछाडि रहेको दोस्रो स्थानको एटलेटिको म्याड्रिडले शनिबार सेल्टा भिगोसँग बराबरी खेल्यो। जससँगै उसले पनि शीर्ष स्थानमा उक्लने मौका गुमायो।
बार्सिलोनाले सोमबार राति रायो भालेकानोलाई हराएमा गोल अन्तरमा रियललाई पछि पारेर शीर्ष स्थानमा उक्लनेछ।