न्युरोड टिम (एनआरटी) लाई पेनाल्टी सुटआउटमा पराजित गर्दै आयोजक लोकतान्त्रिक बागमती सभापति कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
मङ्गलबार दशरथ रङ्गशालामा आयोजक टिम लोकतान्त्रिकका लागि गोलकिपर विकेश कुथुले उत्कृष्ट प्रदर्शन गरे। उनले पेनाल्टी सुटआउटमा उत्कृष्ट प्रदर्शन गर्दा आयोजक टिम ४-२ गोलले विजयी भयो।
कुथुले एनआरटीका सरोज तामाङको प्रहार विफल पारिदिएका थिए। यस्तै सुमित श्रेष्ठको प्रहार आउट हुँदा आयोजक टिम विजयी भयो।
बागमतिका लागि नविन लामा, फोडे फोफाना, रजत तिवारी र कुलदीप कार्कीले गोल गर्दा एनआरटीका अभिषेक लिम्बु र जय गुरुङ सफल भए।
निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरीमा सकियो। त्यसपछि खेलको टुंगो पेनाल्टी सुटआउटबाट लगाइएको हो।
आयोजक टिमले पहिलो हाफमै दुई गोलको अग्रता लिएको थियो। तर एनआरटीले दोस्रो हाफमा दुई गोल फर्काउन सफल भयो।
बागमतीका लागि ११ मिनेटमा सन्दीप कार्की र १४ मिनेटमा सेनेगालाईसेले गोल गरेका थिए। एनआरटीका लागि दुवै गोल कृतिश रत्न छुन्जुले गरे। उनले ४६ र ६९ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
अब आयोजकले उपाधिका लागि संकटा एफसीसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ।