नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले आफ्नो टोली सन्तुलित र बलियो रहेकाले साफ च्याम्पियनसिपमा च्याम्पियन बन्ने लक्ष्य रहेको बताएकी छन्।
नेपालले लगातार तेस्रोपल्ट महिला साफ च्याम्पियनसिपको आयोजना गर्दैछ। बिहीबारदेखि घरेलु मैदानमा हुने साफ च्याम्पियनसिपमा नेपाली टोलीकी कप्तान तथा गोलकिपर कप्तानले च्याम्पियन हुने लक्ष्य रहेको बताएकी हुन्।
उनले सबै टोली मेहनत गरेर च्याम्पियन बन्नकै लागि आएपनि यसपल्ट आफ्नो टोली सन्तुलित र बलियो रहेको विश्वास व्यक्त गरिन्। कप्तान एन्जिला यसपल्ट आफ्नो टोलीको मेहनत खेर नजानेमा आशावादी देखिएकी छिन्।
च्याम्पियनसिपको उद्घाटन खेलमा बिहीवार भारत र पाकिस्तान भिँड्दैछन्।
आयोजक नेपालले भने शुक्रबार भूटानसँग खेल्दै साफ च्याम्पियनसिपको सुरुवात गर्दैछ। पहिलो लक्ष्य समूह चरणका खेलमा राम्रो गर्नु कप्तान अन्जिलाले बताइन्।
साफको तयारीका लागि समय छोटो भए पनि घरेलु लिगले मद्दत पुग्ने उनको विश्वास छ। डिफेन्समा समस्या हुँदा गोलकिपरले महत्वपूर्ण भूमिका खेल्नुपर्ने र यसमा राम्रो गर्न सके टोलीमा सुधार आउने उनको भनाइ छ। कप्तान एन्जिलाले अन्तर्राष्ट्रिय एक्सपोजर नभए पनि प्राप्त अवसरबाट उत्कृष्ट नतिजा निकाल्ने उद्देश्यअनुरूप खेल्नुपर्ने बताइन्।
केही समयअगाडि मात्र एन्फा महिला लिगको पहिलो चरण पूरा भएको थियो। सोही लिगको प्रदर्शनका आधारमा एन्फाले ४० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको थियो। त्यहाँबाट राष्ट्रिय टोली निर्माण गरिएको हो। नेपाली टोलीका प्रशिक्षक राजेन्द्र तामाङले घरेलु लिग सञ्चालन भएकाले दुई हप्ता मात्रै तयारी गरेको र योजनाअनुरूप तयारी गर्ने समय नमिलेको बताए। फिजिकल स्ट्रेन्थ र इन्डुरेन्समा काम गर्न नपाएको उनको भनाइ छ।
प्रशिक्षक तामाङले यसबीच केही स्ट्राइकरहरू पनि विदेशमा रहेकाले टिममा एकसाथ प्रशिक्षण गर्ने अवसर नमिले पनि प्रतियोगिताका लागि आफ्नो टोली तयार रहेको बताए।
पाँच पटक साफको फाइनल खेले पनि उपाधिमा चुक्नुको मुख्य कारण डिफेन्समा कमजोरी रहेको उनको बुझाइ छ। यसको सुधारका लागि खेलाडीहरू पनि थप सजक हुनुपर्ने उनी बताउछन्। तथापि, यसपल्ट डिफेन्समा सुधार भएको उनको विश्वास छ।
नेपालको समूहमा रहेको भूटानले फुटबलमा धेरै लगानी गरिरहेको र त्यहिँअनुरूप प्रदर्शन पनि गरेकाले सहज प्रतिद्वन्द्वी नहुने उनको भनाइ छ। सबै टोली बलियो रहे पनि आफ्नो टोलीका खेलाडी त्यो चुनौती सामना गर्न तयार रहेको प्रशिक्षक तामाङ बताउछन्।
आफ्ना दुई स्ट्राइकरमध्ये रेखा पौडेलले एकदिन मात्र टोलीसँगै प्रशिक्षण गर्न पाउने भए पनि अर्की स्ट्राइकर सावित्रा भण्डारी साम्बाले एक खेलपछि मात्र खेल्ने भएकाले तालमेल अभाव हुने उनको बुझाइ छ। तर सावित्राको क्षमताप्रति कुनै शंका नरहेको उनले बताए।
महिला साफ च्याम्पियनसिपको सफल टोली भारत हो। भारतले पाँचपटक उपाधि उचाल्दा गत संस्करण बंगलादेशले जितेको थियो। बंगलादेशका मुख्य प्रशिक्षक पिटर बटलरले युवा र अनुभवी खेलाडीसहित टोली सन्तुलित रहेको बताए। बंगलादेशले राम्रो तयारी गरेकाले डिफेन्डिङ च्याम्पियनका रूपमा खेल्ने पिटरको विश्वास छ। तर सबै टोलीलाई उतिकै बलियो टोलीका रूपमा खेल्ने पनि उनको भनाइ छ।
बंगलादेशकी कप्तान सविना खातुनले पनि यस च्याम्पियनसिपका लागि खेलाडीले धेरै मेहनेत गरेको र टोली सन्तुलित रहेकाले सुखद् प्रदर्शन गर्नेमा आशावादी देखिइन्।
साफको सबैभन्दा बलियो टोली भारतका प्रशिक्षक सन्तोष कश्यपले सहभागी धेरै टोली बलियो रहेकाले र प्रतिस्पर्धात्मक खेलहरू हुने आशा व्यक्त गरे। प्रशिक्षक कश्यपले २१ दिन मात्रै तयारी गरे पनि ट्याक्टिल रूपमा राम्रा खेलाडीबीच टोली बलियो बनेको विश्वास व्यक्त गरे।
भारतकी कप्तान आशालताले पनि राम्रो तयारी गरेको बताइन्। साथै उनले टोलीमा अनुभवी र युवा खेलाडीहरू रहेको पनि बताइन्। उनले केही अन्तर्राष्ट्रिय प्रतिष्पर्धा पनि गरेकाले सुखद् नतिजा आशा गरेकी छन्।
माल्दिभ्सका प्रशिक्षकले प्राप्त अवसरअनुसार राम्रो तयारी गरेको र आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने बताए।
पाकिस्तानका प्रशिक्षक अदिल रिज्कीले तयारी राम्रो रहेको पछिल्लो संस्करणको तुलनामा यसपल्ट धेरै सुधारिएको टोली रहेको बताए। उनले यसपल्ट टोलीमा केही नयाँ खेलाडीहरू पनि रहेको उल्लेख गरे। भारतसँग पहिलो खेल भएपनि बिना दबाब खल्ने र दुई देशबीचको रोचक प्रतिष्पर्धामा राम्रो खेल प्रश्तुत गर्ने प्रशिक्षकको आशा छ। कप्तान मारिया खानले अन्तर्राष्ट्रिय प्रतिबन्धपछि आफ्नो टोली अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा राम्रो लयमा फर्किएको बताइन्। दुई वर्षपछि नेपाल फर्किंदा सुधारका साथ आएकाले प्रतियोगिताका लागि उत्साहित रहेको मारियाको भनाइ छ।
श्रीलंकाले करिब ४० दिन यस च्याम्पियनसिपका लागि तयारी गरेको छ। श्रीलंकन टोलीका प्रशिक्षक एमएच रुमीले राम्रो तयारी भएकाले कुनै पनि खेलाडीलाई गल्ती गर्ने छुट नरहेको बताएका छन्। पछिल्ला साफपछि श्रीलंकामा फुटबल खेल्न गाह्रो भएको प्रशिक्षकको भनाइ छ। श्रीलंकाका प्रशिक्षकले करिव ४० दिनको तयारीबाट टोली राम्रो आकारमा आएको बताए। श्रीलंकाकी कप्तान तुसान मधुसिकाले लामो समयदेखि तयारी गरेको र टिम पनि राम्रो रहेकाले यसपल्ट सुखद् प्रदर्शन गर्ने आशा व्यक्त गरिन्।
भुटानले यस च्याम्पियनसिपका लागि लामो र प्रभावकारी तयारी गरेकाले आफ्नो टोली उत्साहित गरेको कप्तान पेमा छोडेन छिरिङले बताइन्। भुटानकी प्रशिक्षक निकोला डे मेनीले आफ्नो समूहमा राम्रो प्रदर्शन गर्दै दोस्रो चरणमा पुग्ने लक्ष्य रहेको बताइन्। माल्दिभ्सका प्रशिक्षकले यस च्याम्पियनसिपका लागि आफ्नो टोलीको तयारी पर्याप्त नभए पनि राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरिन्। यस च्याम्पियनसिपका लागि पूर्णरूपमा तयार गर्न नपाए पनि राम्रो प्रदर्शन गर्ने माल्दिभ्सको विश्वास छ।
च्याम्पियनसिमा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भूटान र बंगलादेश गरी सात राष्ट्रले प्रतिष्पर्धा गर्नेछन्। कुल सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘बी’ मा छ। यो समूहमा श्रीलंका माल्दिभ्स र भूटान गरी चार राष्ट्र छन्। अर्को समूह ‘ए’ मा भने बलिया राष्ट्र भारत, पाकिस्तान र साबिक विजेता बंगलादेशले प्रतिष्पर्धा गर्ने तय छ।
— न्युज एजेन्सी नेपाल