इंग्लिस राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा थोमस टुचेल नियुक्त भएका छन्। उनले १ जनवरी २०२५ देखि इंग्ल्यान्डको टोली सम्हाल्नेछन्।
१८ महिनाको सम्झौतामा हस्ताक्षर गरेका ५१ वर्षीय जर्मन नागरिक टुचेल इंग्ल्यान्डका तेस्रा विदेशी प्रशिक्षक हुन्।
यसअघि ग्यारेथ साउथगेटले गत जुलाइमा युरो २०२४ को फाइनलमा स्पेनसँग इंग्ल्यान्डको हारपछि राजीनामा दिएका थिए।
अगस्टमा अन्तरिम प्रशिक्षक नियुक्त भएदेखि चार खेलमा अन्तरिम प्रशिक्षक रहेका ली कार्स्ले अर्को महिना ग्रीस र रिपब्लिक अफ आयरल्याण्ड विरुद्धको नेसन्स लिग खेलको जिम्मेवारीमा रहनेछन्।
गत सिजनको अन्त्यमा जर्मन क्लब बायर्न म्युनिख छाडेका टुचेल इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका पूर्व प्रशिक्षक हुन्।
इंग्ल्यान्डको राष्ट्रिय टोलीको प्रशिक्षक बनेपछि टुचेलले भने, ‘इंग्लिस टोलीको नेतृत्व गर्ने सम्मान पाएकोमा म निकै गर्व गर्छु। मैले लामो समयदेखि यस देशको खेलसँग व्यक्तिगत सम्बन्ध महसुस गरेको छु। जहाँबाट मैले पहिले नै केही अविश्वसनीय क्षणहरू प्राप्त गरेको छु।'
प्रमुख कार्यकारी मार्क बुलिङघमले फुटबल संघले ‘विश्वका उत्कृष्ट प्रशिक्षकहरू मध्ये एक’ नियुक्त गरेको बताएका छन्।
उनले भने, ‘२०२६ मा हुने विश्वकप जित्ने सम्भावित उत्तम मौका दिनमा थोमस र टोलीको ध्यान केन्द्रित छ।’
सन् १९६६ को विश्वकपपछि इंग्ल्याण्डले ठूलो ट्रफी जित्न सकेको छैन।
अब इंग्ल्यान्डले क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिकामा हुने २०२६ को प्रतियोगिताका लागि छनोट प्रक्रिया सुरु गर्नेछ।
यसअघि म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डियोलालाई भूमिकामा लागि सम्पर्क गरिएको थियो। न्यूक्यासल युनाइटेडका प्रशिक्षक एडी होवे र पूर्व ब्राइटन तथा चेल्सीका प्रशिक्षक ग्राहम पोटरलाई पनि सम्भावित सूचीमा राखिएको थियो।
एफएले भनेको छ, ‘अन्तर्वार्ता लिएका धेरै प्रशिक्षकमध्ये टुचेल रुचाइएका उम्मेदवार थिए।’
एफए बोर्डले गत हप्ता निर्णयलाई अनुमोदन गरेको र टुचेलले अक्टोबर ८ मा सम्झौतामा हस्ताक्षर गरेका थिए।
यसअघि कार्स्लेको नेतृत्वमा इंग्ल्यान्ड १० अक्टोबरमा ग्रिससँग पराजित भएको थियो भने १३ अक्टोबरमा फिनल्याण्डलाई हराएको थियो।
चेल्सी र बायर्नमा टुचेलसँग काम गरेका इंग्लिस प्रशिक्षक एन्थोनी ब्यारी उनको सहायक हुनेछन्।
टुचेलले बोरुसिया डर्टमुन्डसँग जर्मन कप र पेरिस सेन्ट जर्मेनमा २०१९-२० मा घरेलु ट्रेबल सहित दुई लिग वान उपाधि जितेका थिए।
सेप्टेम्बर २०२२ मा बर्खास्त हुनुअघि उनले चेल्सीलाई च्याम्पियन्स लिग, क्लब विश्व कप र यूईएफए सुपर कप जिताएका थिए।
बायर्नले गत सिजन २०११-१२ यता पहिलो पटक बुन्डेसलिगाको उपाधि जित्न असफल भएपछि टुचेलले आफ्नो सम्झौतामा एक वर्ष बाँकी रहँदा पनि छाडेका थिए।