नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक राजेन्द्र तामाङले घरेलु मैदानमा हुने महिला साफ च्याम्पियनसिपमा उपाधि जित्ने लक्ष्यसहित तयारी गरेको बताएका छन्।
च्याम्पियनसिप कात्तिक १ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ।
नेपालले लगातार तेस्रो पटक महिला साफको आयोजना गर्न लागेको हो। यसअघि नेपालले २०२२ र २०१९ मा पनि महिला साफ आयोजना गरेको थियो।
घरेलु मैदानमा हुने साफमा च्याम्पियन बन्ने लक्ष्यसहित खेलाडीलाई राम्रोसँग उत्प्रेरणा दिँदै प्रभावकारी तयारी गरिएको प्रशिक्षक तामाङले बताए। टोलीको लक्ष्य पूरा हुने आशा रहेको उनको भनाइ छ।
नेपाली टोलीमा फ्रान्समा लिग खेलिरहेकी सावित्रा भण्डारी साम्बा र युएईमा खेलिरहेकी रेखा पौडेल हुँदा मनोबल बढेको छ।
लामो समय टर्फमा (एन्फा मैदान) प्रशिक्षण गरे पनि घाँसे मैदानमा हुने खेलले केहि अफ्ठ्यारो नहुने प्रशिक्षक तामाङ बताउँछन्।
वाफमा खेल्दा पनि टर्फ प्रशिक्षण गरेर घाँसे मैदानमा प्रतिष्पर्धा गरेको उनले स्मरण गरे। तर खेलाडीको मानसिकताले नै प्रभाव पार्ने उनले बताए।
साबित्रा र रेखा विदेशी लिग खेलिरहेकाले उनीहरूलाई नै राख्ने गरी टिम तयारी गरिएको प्रशिक्षक तामाङले उल्लेख गरे।
प्रतियोगिताका लागि रेखा नेपाल आइपुगेकी छिन् भने सावित्रा आगामी आइतबार मात्र आइपुग्नेछिन्।
जसका कारण सावित्राले पहिलो खेल गुमाउने पक्का छ भने दोस्रो खेल पनि खेल्ने निश्चित छैन।
रश्मि घिसिङ सावित्राको स्थानमा विकल्प हुनसक्ने प्रशिक्षक तामाङले आशा गरे। सावित्रा र रेखालाई सुरुका दुई खेलपछि खेल्ने गरी टोली निर्माण गर्ने उनको उद्देश्य छ।
यसअघि बंगलादेश, श्रीलंका, पाकिस्तान र भारतले समान एकपल्ट यसको आयोजना गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने च्याम्पियनसिमा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भूटान र बंगलादेश गरी सात राष्ट्रले प्रतिष्पर्धा गर्नेछन्। कुल सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
नेपाल समूह ‘बी’ मा छ । यो समूहमा श्रीलंका, माल्दिभ्स र भूटान गरी चार राष्ट्र छन्। अर्को समूह ‘ए’ मा भने बलिया राष्ट्र भारत, पाकिस्तान र साविक विजेता बंगलादेशले प्रतिष्पर्धा गर्ने तय छ।
च्याम्पियनसिपको उद्घाटन खेलमा बिहीबार गते भारत र पाकिस्तान भिड्दैछन्। नेपालले शुक्रबार भुटानसँग पहिलो खेल खेल्दैछ।
हालसम्म नेपाल पाँचपल्ट फाइनलमा पुगे पनि उपाधिको स्वाद भने चाख्न पाएको छैन। दुई पटक भने नेपाल सेमिफाइनलमा रोकिएको छ।
महिला साफ च्याम्पियनसिपको सफल टोली भारत हो। भारतले पाँचपटक उपाधि उचाल्दा गत संस्करणको उपाधि बंगलादेशले जितेको थियो।
-न्युज एजेन्सी नेपालको सहयोगमा