युरोपियन च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति इंग्लिस क्लब आर्सनलले घरेलु मैदानमा फ्रेन्च क्लब पिएसजीसँग प्रतिस्पर्धा गर्दैछ।
तर पिएसजीको टोलीमा स्टार खेलाडी उस्मान डेम्बेले बाहिरिएका छन्।
फ्रान्सका फरवार्ड डेम्बेलेले सिजनमा पिएसजीका लागि ६ लिग-वान खेलमा चार गोल गरेका छन्। यस्तै च्याम्पियन्स लिगको पहिलो खेलमा स्पेनिस क्लब जिरोनाविरूद्ध पिएसजीले १-० को जित निकाल्दा पनि उनले टोलीका महत्वपूर्ण योगदान गरेका थिए।
तर गत शुक्रबार फ्रेन्च लिगमा रेनेसविरूद्ध पिएसजीले ३-१ गोलको जित हात पारेको खेलमा २७ वर्षीय डेम्बेलेले प्रशिक्षक लुइस एनरिकसँग असहमति जाहेर गरेका थिए। उनलाई खेलको अन्त्यतिर सब्सिच्युट गर्दा प्रशिक्षकसँग उनी रिसाएको देखिएको थियो।
‘यदि कसैले टोलीको अपेक्षा अनुसार काम गर्दैन वा सम्मान गर्दैन भने टोलीबाट खेल्न तयार छैन भन्ने बुझ्नपर्छ,’ एनरिकले भने, ‘म मेरा सबै खेलाडी तयार भएको चाहन्छु, त्यसैले मैले उसलाई [डेम्बेले] बाहिर राखेको हुँ। म मेरो टोलीको लागि उत्कृष्ट खेल चाहन्छु र त्यो मेरो काम हो।’
उनले अघि भने, ‘यो परिस्थिति कठिन छ। तपाईंले कठिन निर्णयहरू लिनु पर्छ। मेरो निर्णयमा १००% ढुक्क छु।’