एएफसी यू-२० एसिया कप छनोटअन्तर्गत समूह ‘बी’ मा नेपाल आफ्नो अन्तिम खेलमा पनि पराजित भएको छ।
शुक्रबार चाइनिज ताइपेईमा भएको खेलमा नेपाललाई बहराइनले ४-० गोलले पराजित गर्यो। यससँगै नेपाल आफूले खेलेका चार मध्ये तीन खेलमा पराजित भयो।
यसअघि नेपाल पहिलो खेलमा कम्बोडियासँग ४-१ गोलले पराजित भएको थियो।
यद्यपी दोस्रो खेलमा नेपालले घरेलु टोली चाइनिज ताइपेईलाई ३-१ गोलले हरायो। सो खेलमा समिर तामाङले ह्याट्रिक गरेका थिए। उनले कम्बोडियाविरूद्ध पनि गोल गरेका थिए।
तेस्रो खेलमा उज्वेकिस्तानसँग ६-० गोलले पराजित भएसँगै नेपालको यू-२० एसिया कपमा छनोट हुने सम्भावना कमजोर बनेको थियो।
शुक्रबार बहराइनसँग पनि पराजित हुँदा नेपाल यू-२० एसिया कपमा छनोट हुन सकेन। नेपालले चार खेलमा १५ गोल खायो भने चार गोल गर्न सफल भयो।
नेपालका लागि चारै गोल समिर तामाङले गर्न सफल भए।
एएफसी यू-२० एसिया कप २०२५ मा समूहको शीर्ष टोली सिधा छनोट हुनेछ। दोस्रो हुने टोलीको पनि छनोट हुन सम्भावना हुनेछ। नेपाल शुक्रबार तेस्रो खेलमा पराजित भएसँगै दोस्रो हुने सम्भावना पनि सकिएको हो।