वालिङ नगरपालिका स्याङ्जाले एन्फा महिला लिग २०२४ को सुपर लिगम स्थान पक्का गरेको छ।
बिहीबार भएको लिगको आफ्नो अन्तिम खेलमा चन्द्रपुर नगरपालिका रौतहटलाई २-१ गोलले हराउँदै सुपर लिगमा स्थान पक्का गरेको हो।
वालिङका लागि सुक्रिया मिया र नासालीले गोल गर्दा चन्द्रपुरकी सुनिता सुनारले फर्काएको गोल सन्त्वनामा सीमित बन्यो।
जितसँगै वालिङले नौं खेलबाट १५ अंक जोडेको छ। अन्तिम खेलअघि २२ अंक जोडेको शीर्ष स्थानको एपिएफ, १९ अंक जोडेको त्रिभुवन आर्मी र १८ अंक जोडेको नेपाल पुलिसले सुपर लिगमा स्थान पक्का गरिसकेका छन्।
आजको जितले वालिङले चौथो स्थान पक्का गर्यो। शीर्ष पाँच टोलीबीच सुपर लिग हुने प्रावधानअनुसार अब एक स्थानको टुंगो लाग्न बाँकी छ।
अब ११ अंक जोडेको कोशी, १० अंक जोडेको बागमती युथ र ८ अंक जोडेको संकटा मध्ये एक टोली सुपर लिगमा पुग्नेछन्। आज कोशीले सुदूरपश्चिमलाई हराए उसले सुपर लिगमा स्थान बनाउदा अरु टोली बाहिरिनेछन्।