अखिल नेपाल फुटबल संघ (एन्फा)को बुधबार भर्चुअल रूपमा भएको कार्यकारिणी समितिको बैठकले महिला लिगको बजेट र एन्फा महिला लिगको मोडालिटीबारे छलफल गरेको छ।
छलफलपछि एन्फाले २०२४ को महिला लिगमा १० टोलीको सहभागिता हुने निर्णय भएको छ।
जसमा महिला लिग छनोट पार गरेका कोशी, सुदूरपश्चिम र कर्णाली प्रदेशले मुख्य लिगमा भाग लिनेछन्। यस्तै तीन विभागीय टोलीहरु त्रिभुवन आर्मी, नेपाल पुलिस र एपिएफ फुटबल क्लबले पनि महिला लिगमा भाग लिनेछन्। ए, बी र सी डिभिजन क्लब मध्येबाट संकटा क्लब र बागमती युथ क्लबले महिला लिगमा भाग लिने एन्फाले निर्णय गरेको छ। यस्तै नगरपालिका मध्येबाट वालिङ र चन्द्रपुरले महिला लिगमा प्रतिस्पर्धा गर्नेछन्।
१० टोलीबीच सिंगल राउन्ड रोबिनामा हुने लिगमा ४५ खेल सञ्चालन हुनेछ। त्यसपछि उत्कृष्ट पाँच टोलीबीच सुपर लिगमा डबल राउन्ड रोबिनमा खेल सञ्चालन हुनेछ। सुपर लिगका उत्कृष्ट चार टोलीले एलिमिनेटर, क्वालिफायर र फाइनल गरी थप चार खेलमा प्रतिस्पर्धा गर्नेछ। महिला लिगमा कुल ६९ खेल हुनेछन्।
एन्फा बैठकले २०२४, २०२५ र २०२६ को महिला लिगको लागि बजेट समेत पारित गरेको छ।
जसमा महिला लिग २०२४ का लागि २ करोड २४ लाख बजेट पारित गरेको छ। यस्तै महिला लिग २०२५ को छनोटमा ८१ लाख ७३ हजार तथा महिला लिग २०२५ का लागि २ करोड ५२ लाख रुपैयाँ बजेट पारित गरिएको छ। २०२६ को महिला लिग छनोटका लागि ९१ लाख ९३ हजार तथा २०२६ को महिला लिगका लागि २ करोड ५६ लाख रुपैयाँ समेत बजेट पारित भएको छ।