अर्जेन्टिनाले पछिल्लो तीन वर्षमा तीन मुख्य फुटबल प्रतियोगिताको उपाधि जितेसँगै विश्वभरका उसका समर्थकमा खुसीयाली छाएको छ।
सन् २०२१ सम्म उपाधिका लागि २८ वर्ष कुरेको अर्जेन्टिनाले सन् २०२४ सम्म आइपुग्दा तीन उपाधि जित्न सफल भयो।
सन् २०२१ मा कोपा अमेरिकाको उपाधि जितेको अर्जेन्टिनाले सन् २०२२ मा कतारमा आयोजना भएको फिफा विश्वकप जित्यो।
सोमबार विहान कोपा अमेरिका २०२४ को पनि उपाधि जित्न सफल भएपछि अर्जेन्टिनाले सर्वाधिक कोपा जित्ने इतिहास कोर्न सफल भयो।
मेसीले पहिलो मुख्य उपाधि तथा अर्जेन्टिनाले २८ वर्षपछि मुख्य प्रतियोगिताको उपाधि जित्दा विंगर एन्जल डि मारिया नायक सावित भएका थिए। डि मारियाले गरेको गोल नै अर्जेन्टिनाको उपाधिको खडेरी तोड्न काफी बनेको थियो।
डि मारियालाई अर्जेन्टिना र मेसीको अन्तर्राष्ट्रिय फुटबलको उपाधि जित्ने लक्ष्य पूरा गरिदिने एक सार्थक सारथी मान्ने गरिन्छ।
सन् २०२४ को कोपा अमेरिकामा डि मारियाले कोलम्बियाविरूद्धको फाइनल खेल्न सफल भए। डि मारियाका लागि यो खेल देशको जर्सीमा अन्तिम थियो।
फाइनल खेलअघि नै डि मारियाले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका थिए। उनको संन्यासलाई सुखद बनाउन अर्जेन्टिना र टोलीका कप्तान लिओनल मेसी चाहान्थे। त्यहिँ चाहनाअनुरुप कोलम्बियालाई अर्जेन्टिनाले १-० गोलले पराजित गर्दा डि मारियाको सुखद विदाइ भयो।
सन् २००८ मा राष्ट्रिय टोलीमा डेब्यू गरेका डि मारियाले देशका लागि १४५ खेलमा ३१ गोल गरे।
यिनै डि मारिया हुन्, जसको अभाव मेसीले तीन वर्षको बीचमा तीन मुख्य प्रतियोगिताको फाइनल खेल्दा महसुस गरे।
अर्जेन्टिनाले सन् २०१४ देखि २०१६ सम्म तीन मुख्य प्रतियोगिताको फाइनल खेल्दा डि मारिया राष्ट्रिय टिममा परे पनि फाइनल खेल्न पाएनन्।
अर्जेन्टिनालाई उपाधि जित्न नसकेको पीडा थियो भने डि मारियालाई फाइनल खेल्न नपाएको।
मेसीभन्दा एक वर्ष कान्छा डि मारियाले सन् २००८ मा पाराग्वेविरूद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए।
सन् २०१० को विश्वकपका लागि तत्कालिन प्रशिक्षक डिएगो म्याराडोनाले डि मारियालाई स्थान दिए। विश्वकपको टिममा परेको पाँच दिनपछि डि मारियाले क्यानडाविरूद्ध पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए।
मेसी र डि मारियाजस्ता युवा खेलाडीप्रेरित अर्जेन्टिनाले सन् २०१० को विश्वकपमा क्वार्टरफाइनलसम्म स्थान बनायो। समूह चरणमा सबै खेल जितेको अर्जेन्टिनाले अन्तिम १६ मा मेक्सिकोलाई ३-१ ले हरायो। तर क्वार्टरफाइनलमा जर्मनीसँग ४-० ले पराजित हुन पुग्यो।
सन् २०११ को कोपा अमेरिका अर्जेन्टिना क्वार्टरफाइनलबाट बाहिरिँदा डि मारियाले एक गोल गरेका थिए।
सन् २०१४ को विश्वकप फुटबलमा अर्जेन्टिनाले उत्कृष्ट प्रदर्शन गर्यो। त्यतिबेलासम्म डि मारिया र मेसी टिमका अनुभवी खेलाडी भइसकेका थिए।
अन्तिम १६ को खेलमा डि मारिया नायक बन्दा अर्जेन्टिनाले अन्तिम ८ मा स्थान पक्का गरेको थियो। स्विट्जरल्यान्ड्स विरूद्धको अन्तिम १६ को खेल अतिरिक्त समयसम्म धकेलिएको थियो। खेलको ११८ औं मिनेटमा डि मारियाले गोल गरेपछि अर्जेन्टिनाले जित निकालेको थियो। उनले मेसीको पासमा गोल गरेका थिए।
बेल्जियमविरूद्धको क्वार्टरफाइनलका खेलका दौरान डि मारिया घाइते भए। जसका कारण उनले त्यसपछिका सबै खेल गुमाए। पछि अर्जेन्टिना फाइनलमा पुग्यो। फाइनलमा अर्जेन्टिनालाई जर्मनीसँग १-० ले पराजित भएर उपविजेतामै सीमित बन्यो। खेलमा मेसीलाई डि मारियाको साथ खड्किएको स्पष्ट देखिन्थ्यो।
सन् २०१५ को कोपा अमेरिकाअघि डि मारियालाई मेसीको अनुपस्थितिमा कप्तान बनाइएको थियो। उनले कप्तानी गरेको वार्मअप खेलमा अर्जेन्टिनाले बोलिभियालाई ५-० ले हराएको थियो। खेलमा डि मारियाले दुई गोल हानेका थिए।
कोपा अमेरिका २०१५ को सेमिफाइनलमा अर्जेन्टिनाले पाराग्वेलाई ६-१ ले हराएर फाइनलमा स्थान बनायो। खेलमा डि मारायले दुई गोल गरेका थिए। चिलीविरूद्धको फाइनलमा डि मारिया घाइते हुँदा फाइनल पूरा खेल्न पाएनन्।
चिलीविरूद्धको फाइनलको पहिलो हाफमा घाइते भएपछि उनी मैदान छाड्न बाध्य भएका थिए। डि मारियाले मैदान छाडेपछि पनि दुबै टिमले कुनै गोल गर्न सकेनन्। त्यसपछि भएको पेनाल्टी सुटआउटमा अर्जेन्टिना ४-१ ले पराजित भयो। अर्जेन्टिना फाइनलमा लगातार दोस्रो वर्ष पराजित हुन बाध्य भयो।
सन् २०१६ मा कोपा अमेरिका सुरू भएको सय वर्षको अवसरमा अर्को प्रतियोगिता आयोजना भयो। अमेरिकामा भएको प्रतियोगितामा डि मारियाले चिलीविरूद्धको पहिलो खेलमा गोल गरेका थिए। खेल अर्जेन्टिनाले २-१ ले जितेको थियो।
पानामाविरूद्धको दोस्रो खेलमा अर्जेन्टिना ५-० ले विजयी भयो। खेलमा मेसीले ह्याट्रिक गरेका थिए। डि मारियाले निकोलास ओटामेन्डीलाई पहिलो गोलका लागि पास दिएका थिए। तर उनी खेलका दौरान घाइते हुन पुगे र प्रतियोगिताका बाँकी खेल गुमाए। यसपटक पनि अर्जेन्टिना फाइनलमा पुग्यो। अर्जेन्टिनाले सन् २०१४, २०१५ र २०१६ मा लगातार मुख्य प्रतियोगिताको फाइनल खेल्ने इतिहास बनाएको थियो।
२०१६ को कोपा अमेरिका फाइनलमा फेरि चिलीसँग प्रतिस्पर्धा भयो। निर्धारित र थप समयमा यसपटक पनि गोल हुन सकेन। त्यसपछि पेनाल्टी सुटआउटमा अर्जेन्टिना अभागी सावित भयो। २०१८ को विश्वकपमा अन्तिम १६ बाट बाहिरिँदा डि मारिया र अर्जेन्टिनाका लागि बिर्सनलायक प्रतियोगिता बन्यो।
२०१९ को कोपा अमेरिकामा डि मारियाले खासै मौका पाएनन्। उनले कोलम्बियाविरूद्धको पहिलो खेलमा पहिलो हाफमात्र खेल्दा पाराग्वेविरूद्धको खेलको ६५ औं मिनेट मौका पाएका थिए। कतारविरूद्धको तेस्रो खेलमा उनले खेल्न पाएनन्। कोलम्बियाविरूद्धको क्वार्टरफाइनल र ब्राजिलविरूद्धको सेमिफाइनलमा पनि डि मारिया मैदान उत्रन पाएनन्।
त्यसपछि उनले राष्ट्रिय टिममा पर्न संघर्ष गर्नुपर्यो। २०२० मा इक्वेइडर र बोलिभियाविरूद्धको विश्वकप छनोटको खेलका लागि घोषणा गरिएको टिममा डि मारियालाई स्थान दिइएन।
राष्ट्रिय टिममा पर्न असफल भएपछि डि मारियाले असन्तुष्टि व्यक्त गरेका थिए। त्यतिबेला डि मारिया र ब्राजिलका फरवार्ड नेइमारप्रेरित फ्रेञ्च क्लब पिएसजीले युरोपियन च्याम्पियन्स लिगको फाइनलमा स्थान पक्का गरेको थियो।
'मैले क्लब स्तरमा राम्रो खेलेको छु। तर राष्ट्रिय टिममा किन परिनँ भन्ने बुझ्न गाह्रो भइरहेको छ,' डि मारियाले एक अर्जेन्टाइन रेडियोलाई अन्तर्वार्ता दिँदै भनेका थिए,'मैले प्रत्येक पटक राम्रो खेलेको छु, अधिकांशमा म्यान अफ दी म्याच अवार्ड हात पारेको छु। यस्तो अवस्थामा मैले राष्ट्रिय टिममा पर्छु भन्ने सोच्न सक्छु।'
दुई महिनापछि उनी फेरि राष्ट्रिय टिममा फर्किए। उनलाई पाराग्वे र पेरूविरूद्धको खेलका लागि राष्ट्रिय टिममा बोलाइएको थियो।
सन् २०२१ को कोपा अमेरिकामा भने डि मारियाका राष्ट्रिय टिममा पर्न सकस भएन। प्रतियोगिताका दौरान घाइते भएर अलग हुन परेन। जसका कारण उनले अर्जेन्टिनाका लागि पहिलो पटक पूरै फाइनल खेल्ने अवसर पाए। फाइनलमा निर्णायक गोल गर्दै अर्जेन्टिनाको उपाधिको खडेरी तोडे। अझ मेसीको अन्तर्राष्ट्रिय उपाधि जित्ने लक्ष्यमा डि मारिया सारथी बने। मेसीले पनि ब्राजिलविरूद्ध भएको फाइनललाई 'डि मारियाको फाइनल' भनेका थिए।
'यो फाइनल अविस्मरणीय हुन गइरहेको छ,' ब्राजिललाई हराएर उपाधि जितेपछि डि मारियाले मेसीसँग खेलअघि भएको कुरा स्मरण गरे, 'मेसीले मलाई यो मेरो फाइनल हो, यसअघि मैले गुमाएका फाइनलको रि-म्याच हो भनेका थिए।'
डि मारियाको लक्ष्य यहीँ सकिएन। उनी अर्जेन्टिनाका लागि विश्वकपको उपाधि उचाल्न चाहन्थे। नभन्दै सन् २०२२ को विश्वकप फाइनल खेल्न सफल भए। कतारको लुसेल रंगशालामा फ्रान्सविरूद्धको फाइनलमा डि मारियाले गोल गरेका थिए। मेसीले २३ मिनेटमा पेनाल्टीबाट अग्रता दिलाउँदा डि मारियाले ३६ मिनेटमा अग्रता दोब्बर पारेका थिए। यद्यपी फ्रान्सका एमबाप्पेले दोस्रो हाफमा दुई मिनेटमा दुई गोल गरेका थिए। एक्स्ट्रा समयमा मेसी र एमबाप्पेले दुवैले गोल गर्दा खेल तीन तीन बराबरीमा सकिएको थियो। पेनाल्टी सुटआउटमा अर्जेन्टिनाले ४-२ गोलले खेल जित्दै विश्वकपको उपाधि उचालेको थियो।
विश्वकपमा जित्ने लक्ष्य पूरा गरेका डि मारिया कोपा २०२४ मा भने खासै चल्न सकेनन्। त्यसैले पनि होला उनले कोपापछि संन्यासको घोषणा गरेका।
देशका लागि तीन वर्षमा तीन मुख्य उपाधि जितेपछि संन्यास लिने अवसर पाएका डि मारियालाई मेसी र अर्जेन्टिनाले सधैं सम्मान दिँदै सम्झिरहने नै छन्।