आइतबार इंग्ल्यान्डका लागि फेरि अर्को खराब दिन सावित भयो। सन् १९६६ पछि मुख्य फुटबल प्रतियोगिताको उपाधि जित्ने इंग्ल्यान्डको सपना पूरा हुन सकेन।
सन् १९६६ मा विश्वकप उपाधि जितेपछि कुनै पनि उपाधि जित्न नसकेको इंग्ल्यान्डका लागि मुख्य उपाधिको पर्खाइ ५८ वर्ष पूरा भयो।
युरो २०२४ को फाइनलमा स्पेनसँग पराजित भएपछि इंग्ल्यान्डको उपाधि यात्रा फेरि चकनाचुर भएको हो। आइतबार जर्मनीको बर्लिनमा स्पेनसँग २-१ ले पराजित भएपछि इंग्ल्यान्ड स्तब्ध बन्यो।
इंग्ल्यान्ड स्तब्ध बन्दा स्पेनले भने कीर्तिमान बनाउन सफल भयो। स्पेनले इंग्ल्यान्डलाई पराजित गरेसँगै चौथो पटक युरो जित्ने पहिलो टोलीको कीर्तिमान बनायो।
स्पेनले युरो २०२४ को उपाधि जितेर कीर्तिमान बनाउनुअघि सन् २०१२ मा उपाधि जितेर सर्वाधिक उपाधि जित्ने जर्मनीको कीर्तिमान बराबरी गरेको थियो।
स्पेनले २०२४ र २०१२ को उपाधि जित्नुअघि २००८ र १९६४ मा पनि उपाधि जितेको थियो।
युरो २०२४ मा स्पेनको अनुभवी र युवा खेलाडी मिश्रित टोलीको रफ्तार निकै उत्कृष्ट थियो। स्पेनले समूह चरणदेखि सात खेल जित्दा उपाधि सम्भव भयो। उसले समूह चरणपछि नकआउट चरणमा साविक विजेता इटाली, जर्मनी र फ्रान्सलाई पराजित गरेको थियो। स्पेन पछिल्लो २७ खेलमा अपराजित छ।
युरो २०२४ मा स्पेनको राम्रो पक्ष भनेको उसले पेनाल्टीबिना नै सबै सात खेल जित्यो। यो युरोपियन च्याम्पियनसिपको रेकर्ड हो। अर्कोतर्फ स्पेनले विश्वकप जित्ने हरेक राष्ट्रलाई पनि हराउन सफल भयो। उसले इटाली, जर्मनी, फ्रान्स र इंग्ल्यान्डसहित २०१८ को विश्वकप फाइनल खेलेको क्रोएसियालाई पनि पराजित गर्न सफल भयो।
प्रतियोगितामा स्पेनका रोद्री प्लेयर अफ द टुर्नामेन्ट भए। किशोर खेलाडी लामिन यमाल प्रतियोगिताको युवा खेलाडी बने। तीन गोल गरेका स्पेनका ड्यानी ओल्मोले अरु ६ खेलाडीसँग उच्च गोलकर्ताको ट्रफी सेयर गरे। स्पेनकै यमलले प्रतियोगितामा सर्वाधिक चार असिस्ट गरे।
यता इंग्ल्यान्डले सन् २०२१ मा घरेलु मैदानमा इटालीसँग फाइनलमा पराजित हुन परेको घाँउमा मलम लागउन सकेन। इंग्ल्यान्ड युरोको लगातार दुई फाइनलमा पराजित हुने पहिलो टोली समेत बन्यो।
इंग्ल्यान्डले सन् १९६६ मा घरेलु मैदानमा भएको विश्वकपको फाइनलमा पश्चिम जर्मनीलाई ४-२ ले हराएपछि धेरै फ्यानहरूले कम्तिमा ६० वर्षसम्म दोस्रो उपाधिका लागि कुर्नु पर्ने कल्पना समेत गरेका थिएनन्। त्यसबेलादेखि पुरुष विश्वकप र युरोपियन च्याम्पियनसिपका २९ प्रतियोगिता भएका थिए। तर इंग्ल्यान्डले २०२१ सम्म कहिल्यै फाइनलमा स्थान बनाउन सकेन।
इंग्ल्यान्डका फ्यानहरूका लागि मुख्य प्रतियोगिताको नकआउट चरणको हार निकै पीडादायी रह्यो। सन् १९८६ मा डिएगो म्याराडोनाको ह्यान्डबल, १९९० र १९९६ मा जर्मनीसँग पेनाल्टीमा हारसँगै पछिल्ला वर्षमा इंग्ल्यान्डका खेलाडीले गरेको पेनाल्टी मिसले पीडा दियो।
युरो २०२१ को फाइनल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टी सुटआउटमा इंग्ल्यान्ड इटलीविरुद्ध चुक्यो। तर युरो २०२४ मा भने स्पेनविरुद्धको फाइनलमा इंग्ल्यान्डले निर्धारित समयमै निकै संघर्ष गर्न पर्यो।