रोहित चन्दले इन्डोनेसियन क्लब पेर्सिक केडिरीबाट लगातार तेस्रो सिजन खेल्ने भएका छन्।
इन्डोनेसियन फुटबलको शीर्ष डिभिजनको क्लब पेर्सिकले रोहितसँग तेस्रो सिजन पनि सम्झौता भएको गरेको सामाजिक सञ्जालमार्फत जानकारी गराएको छ।
पछिल्लो दुई सिजनमा उनले पेर्सिकका लागि ५६ खेलमा ३ गोल गरेका छन्।
पेर्सिक गत सिजन १८ क्लब मध्ये नवौं भएको थियो। यो सिजनको इन्डोनेसियन लिगा वान अगस्ट दोस्रो सातादेखि सुरू हुँदैछ।
यसअघि आक्रामक मिडफिल्डर रोहितले तीन सिजनअघि अर्को इन्डोनेसियन क्लब पेर्सिजा जाकर्तासँगको सम्झौता सकिएसँगै पेर्सिकमा आबद्ध हुने निर्णय लिएका थिए।
रोहित पेर्सिजा जाकर्ताको अनुभवी खेलाडी मध्ये एक थिए। उनी पहिलो पटक सन् २०१३ मा पेर्सिजामा आबद्ध भएका थिए। उनले पेर्सिजाबाट १४९ खेलमा १३ गोल गरे।
रोहितले पेर्सिजाबाट खेल्दा सन् २०१८ को लिग वानको उपाधि, २०१८ को प्रेसिडेन्सियल कप र २०२१ को मेन्पोरा कप जितेका थिए
यस्तै सन् २०१८ मा रोहित लिग वानका सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए। यस्तै सो सिजन उनी लिगको उत्कृष्ट ११ खेलाडीभित्र परेका थिए।
सन् २०१२ देखि रोहितले इन्डोनेसियामा खेलिरहेका छन्।
सन् २०१० देखि २०१२ सम्म भारतको आइ लिग क्लब हलबाट खेलेका उनी २०१२ मा इन्डोनेसियन क्लब पेकानबारुमा आबद्ध भएका थिए।
नेपाली राष्ट्रिय टोलीमा सन् २००९ डेब्यू गरेका उनले ९२ खेल खेलिसकेका छन्।