युरो २०२४ को पहिलो सेमिफाइनलमा आज राति फ्रान्स र स्पेन भिड्दैछन्। नेपाली समयअनुसार राति सवा १२ बजे जर्मनीको म्युनिखमा खेल हुनेछ।
सेमिफाइनलसम्म आइपुग्दा स्पेनले पाँचै खेल जितेको छ। जारी प्रतियोगितामा पाँचै खेल जित्ने स्पेन एक्लो टोली हो।
स्पेनले ११ गोल गर्दा १०२ पटक गोलका लागि प्रयास गरेको छ। यसपटक पनि स्पेन प्रतियोगिताको सबैभन्दा बलियो टोलीको रुपमा अघि देखिएको छ।
क्वार्टरफाइनलमा घरेलु टोली जर्मनीमाथि जित हासिल गरेपछि प्रशिक्षक लुइस डे ला फुएन्टेले भनेका थिए, ‘मेरा खेलाडीहरू भोका छन्। टोलीमा सधैं सुधारको लागि ठाउँ छ। तर खेलाडीको गुणस्तर र प्रतिबद्धतामा प्रश्न गर्न सक्दैनौं।’
अर्कोतर्फ फ्रान्स पनि प्रतियोगितामा लयमा छ। जसले अहिलेसम्म आफ्नो पाँच खेलमा चार क्लिनसिट राखेको छ।
पछिल्लो आठ वर्षमा फ्रान्स चौथो ठूलो फाइनलको नजिक छ। फ्रान्सले यसअघि सन् २०१६ को युरो कपसँगै २०१८ र २०२२ को विश्वकपको फाइनल खेलेको थियो।
‘हामी सेमिफाइनलमा छौं, हामीलाई प्रतियोगिताको नकआउट जित्ने बानी जस्तै परेको छ’ प्रशिक्षक डिडियर डेसच्याम्प्सले पोर्चुगललाई क्वार्टरफाइनलको जित पछि भनेका थिए ‘अब हामी प्रतियोगिता जित्न चाहान्छौं।’
समग्रमा स्पेनको टोली युवा जोशले भरिएको छ भने फ्रान्स टोली अनुभवी छ।