युरोकप २०२४ अन्तर्गत आजदेखि क्वाटरफाइनलका खेलहरू सुरू हुँदैछ।
जर्मनीको उर्टमबर्गस्थित एमएचपी एरेनामा जर्मनी र स्पेनले पहिलो क्वाटरफाइनल खेल्नेछ।
खेल नेपाली समयअनुसार आज राति पौने १० बजे सुरू हुनेछ।
आजै राति पौने १ बजे फ्रान्स र पोर्चुगलबीच दोस्रो क्वाटरफाइनलको खेल हुनेछ।
स्पेन समूह ‘बी’ र जर्मनी समूह ‘ए’को विजेता बनेर नक आउट चरणमा प्रवेश गरेको थियो।
नक आउटमा स्पेनले जर्जिया र जर्मनीले डेनमार्कलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको थियो।
स्पेन र जर्मनीबीच अहिलेसम्म २६ खेल भएकोमा स्पेनले ८ र जर्मनीले ९ खेल जितेको छ। ९ खेल बराबरी भएको छ।
ती खेलमा स्पेनले ३२ र जर्मनीले ३१ गोल गरेको छ।
यता समूह ‘एफ’को विजेता बनेर नक आउटमा पुगेको पोर्चुगल नक आउटमा स्लोभेनियालाई पराजित गर्दै क्वाटरफाइनल पुगेको हो।
समूह डी को उपविजेता बनेको फ्रान्स नक आउटमा बेल्जियमलाई पराजित गरेर क्वाटरफाइनल पुगेको हो।
फ्रान्स र पोर्चुगलबीच भएका २५ खेलमध्ये फ्रान्सले १६ जित र पोर्चुगलले ६ खेल जितेको छ। तीन खेल बराबरीमा टुंगिएको थियो।
क्वाटरफाइनलको तेस्रो खेल भोलि इंग्ल्याण्ड र स्वीट्जरल्याण्डबीच र अन्तिम खेल आइतबार नेदरल्याण्ड्स र टर्कीएबीच हुनेछ।
बुधबार र बिहीबार सेमीफाइनलको खेल र जुलाई १५ मा फाइनल हुनेछ।